कोरोना महामारीका समयमा घटेको फूलको कारोबार गत ३ वर्षदेखि बढिरहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा २ सय ४२ करोडको फूल कारोबार भएकामा आव २०७९/८० मा ३ सय ७ करोड रुपैयाँको कारोबार भएको छ । यसरी नेपालभित्रै फूलको बजार विस्तार भइरहेकाले नेपालमा पुष्प व्यवसायको सम्भावना निकै देखिएको छ । नेपालको आन्तरिक माग धान्न मात्र होइन, निर्यातसमेत गर्न सक्ने देखिन्छ । तर, त्यसका लागि पर्याप्त लगानी हुन सकेको छैन ।
नेपालको भौगोलिक बनोटका कारण प्राय: सबैजसो फूलको खेती हुन सक्छ । तराईको गर्मीदेखि हिमालको चिसोसम्मको हावापानी भएकाले फूलखेती गर्न उपयुक्त वातावरण रहेको छ । घरआँगन, भीरपाखा सबैतिर फूलखेती गर्न सकिने भए पनि फूलको व्यावसायिक खेतीको विस्तार पर्याप्त भएको देखिँदैन । कतिपय फूलका लागि त खेर गइरहेका सार्वजनिक जग्गा भए पुग्छ किनभने तिनका लागि उर्वर जमीन आवश्यक पर्दैन । आव ७९/८० मा रू. ६८ लाख बराबरको फूल तथा त्यससम्बन्धी वस्तुको निर्यात भएको देखिन्छ भने ३३ करोड बराकरको फूल आयात भएको देखिन्छ । नेपालमा सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसकिएको क्षेत्रमध्ये फूलखेती पनि एक हो । त्यसैले फूलखेतीलाई प्रोत्साहन गर्न र यसलाई व्यावसायिक बनाउन आवश्यक देखिन्छ ।
सम्भावना भएर पनि फूलखेती फस्टाउन नसक्नुमा विभिन्न कारण देखिन्छन् । तिहारलाई लक्षित गरी फूलखेती निकै व्यापक देखिए पनि व्यावसायिक रूपमा यसको खेती निकै कम देखिन्छ । शहरी क्षेत्रमा खुलेका नर्सरीहरूको संख्या र कारोबार हेर्दा पनि यसलाई व्यावसायिक बनाउन बाँकी नै छ भन्ने देखिन्छ । अझ निर्यातको लक्ष्यसहित फूलखेती त शून्य बराबर नै छ भन्दा हुन्छ । संसारमा सबैभन्दा बढी फूल निर्यात गर्ने नेदरल्यान्ड्सजस्तै नेपालले पनि फूल निर्यात गर्न सक्छ । यसमा अनुसन्धान, बीउबीजनमा सहयोग तथा चिस्यानयुक्त ढुवानीका साधनको व्यवस्था आदि हुन भने आवश्यक छ ।
नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड्न सकिएको छैन ।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा फूलखेती हुने गरेको छ । तर, ती क्षेत्रका जग्गा घडेरी बन्न थालेसँगै फूलखेतीका लागि जग्गाको अभाव हुन थालेको छ । फूलखेती गर्न शहरी इलाका बाहिर प्रशस्त जग्गाजमिन उपलब्ध छ । तर, त्यहाँ उत्पादित फूल बजारसम्म पुर्याउन सक्ने अवस्था छैन । फूल चाँडै नै बिग्रने खेती हो । त्यसो हुँदा यसको ढुवानीका लागि चिस्यानयुक्त गाडीको आवश्यकता पर्छ । यस्तो गाडी महँगो हुने भएकाले फूलखेती गर्नेहरूले खरीद गर्न कठिन हुने देखिन्छ । ठूलो परिमाणमा निर्यातकै लागि फूलखेती गर्नेहरूले भने यो खरीद पनि गर्न सक्लान् । तर, यसले लागत निकै बढाउने हुँदा यसतर्फ व्यवसायीहरू लागेको पाइँदैन । सरकारले यस्तो रेफ्रिजरेशनसहितको गाडीको सुविधा उपलब्ध गराउन सहयोग गर्नुपर्ने देखिन्छ । यसो भयो भने दूरदराज क्षेत्र जहाँ जग्गा सहज रूपमा उपलब्ध हुन्छ त्यहाँ फूलको खेती हुन्छ र त्यसले बजार पनि सहजै पाउन सक्छ ।
नेपालमा वर्षेनि करीब १२ देखि १५ प्रतिशतसम्म फूलको बजार बढिरहेको छ । विशेष अवसरहरूका लागि चाहिने फूलको आयात गर्नुपर्ने बाध्यता छ । नेपालमै उत्पादनको सम्भावना भएर पनि यस्ता फूल आयात गर्नुपर्ने बाध्यता हुनु भनेको यसमा व्यावसायिकताको अभाव देखिनु हो ।
नेपालमा अहिले कृषिलाई पर्यटनसँग जोड्न थालिएको छ । तर, फूलखेतीलाई भने पर्यटनसँग जोड््न सकिएको छैन । चीनले फूलखेतीसँग पर्यटनलाई जोडेर दोहोरो लाभ लिएको छ । फूल पर्यटनको आधार बन्न सक्छ भन्ने कुरा त गोदावरी बोटानिकल गार्डेनमा आन्तरिक पर्यटकको संख्याले नै पुष्टि गरेको छ । यस्ता फूलहरूको बागवानी बनाएर विभिन्न किसिमका फूलको खेती गर्ने हो भने पर्यटनका साथै अन्य लाभ पनि लिन सकिन्छ ।
नेपालमा फूलखेती फस्टाउन नसक्नुको एउटा कारण बीउको सहज उपलब्धता नहुनु पनि हो । हाइब्रिड बीउ र टिस्यू कल्चर बिरुवा उत्पादन प्रविधि पर्याप्त नभएकाले फूलको उत्पादन बढ्न नसकेको हो । त्यस्तै व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श र तालिम दिने संस्थाको अभाव पनि खट्किएको छ । आर्थिक–प्राविधिक सहयोग पनि उपलब्ध हुन सकेको देखिँदैन । आधुनिक प्रजनन विधिबाट माटो सुहाउँदा बीउहरू उत्पादन, भण्डारण र प्रशोधन आदि काम गर्ने हो भने फूलखेती पनि नेपालको आर्थिक रूपान्तरणमा निकै सहयोगी हुने देखिन्छ ।
निर्यातका लागि सम्भाव्य वस्तुको खोजी गर्दै तिनलाई व्यावसायिक बनाउनु आजको आवश्यकता हो । त्यस्तो वस्तुमा फूल पनि पर्छ । त्यसैले यसका लागि प्रविधि, पूँजीलगायतका पक्षमा ध्यान दिनु जरुरी देखिन्छ । उत्पादन बढाउन सके आयात प्रतिस्थापनका साथै निर्यातसमेत बढाउन सक्ने देखिन्छ ।