रोल्पा (अस) । रोल्पामा दुईओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तरकारीको पकेट क्षेत्र मानिएको रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको कोल्ड स्टोर अबको केही दिनमै हस्तान्तरण गर्नेगरी काम भइरहेको कोल्ड स्टोरका सुपरिवेक्षण इञ्जिनियर सुरेश घर्तीमगरले जानकारी दिए । ‘दुवै कोल्ड स्टोर निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ,’ इञ्जिनियर घर्तीले भने, ‘अबको केही सातामै कोल्ड स्टोर सञ्चालनमा आउने गरी काम भइरहेको छ ।’
प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहवनस्थित कोल्डस्टोरको क्षमता ५०० मेट्रिक टन छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ । कोल्ड स्टोर निर्माण भएसँगै यस क्षेत्रका किसान हर्षित भएका छन् । यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा विक्री गर्न सकिने भएपछि आपूmहरू हर्षित भएको साना किसान सहकारी संस्थाकी अध्यक्ष प्रमिला पुनने बताए । ‘यसअघि वर्षायाममा उत्पादित तरकारीले बजार नपाएर हैरान हुने गरेका थियौं,’ पुनले भने, ‘अब उक्त समस्या हट्ने भएपछि हामी खुशी छौं ।’
यस्तै स्याउ, किवी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुस गरेका छन् । कोल्ड स्टोरले यहाँ उत्पादन हुने स्याउ र आलुले राम्रो मूल्य पाउनेमा आफूहरू ढुक्क भएको किसानका लागि कृषक समूहका अध्यक्ष अमृत केसीले बताए । ‘यसअघि कुहिने डरले सस्तो मूल्यमै स्याउ बेच्दै आएका थियौं,’ केसीले भने, ‘अब हामीले बेमौसममा राम्रो मूल्यमा विक्री गर्न पाउने भएका छौं ।’