तनाव व्यवस्थापन र भावनात्मक बुद्धिमत्ता, दीपेश कर्णको विचार

हरेक व्यक्तिको बौद्धिक र भावनात्मक गरी सक्षमताका दुई स्तर हुन्छन् । एक अध्ययनका अनुसार हाम्रो व्यावहारिक जीवनमा बौद्धिक स्तरले २० प्रतिशत र भावनात्मक स्तरले ८० प्रतिशत भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले अहिले कतै न कतै सम्बन्धमा तनाव र जीवनमा अशान्ति रहि नै रहन्छ ।  प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले भावनात्मक बुद्धिमत्तालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए । आइ क्यु र इक्यूको सन्तुलन बनाउन सकेको व्यक्तिलाई मात्र वर्तमानमा चनाखो र स्मार्ट व्यक्तिको संज्ञा दिइएको छ ।  आईक्यू भन्नाले कुनै व्यक्तिको उसकै उमेरसमूहका अन्य व्यक्तिहरूको तुलनामा बौद्धिक वा दिमागी क्षमताको गुणक हो भने इक्यू भनेको कुनै व्यक्तिभित्र रहेका अलग अलग भावनाहरूको व्यवस्थापन गर्नसक्ने क्षमता हो ।  भावनात्मक बुद्धिमत्ताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्नसक्ने योग्यतालाई दर्शाउँछ । यसप्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्शाउँछ । भावनात्मक ज्ञान भनेको आफ्नो र अरूको भाव बुझ्नसक्ने कला मात्र हो । यसको प्रथम चरण नै बोली हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्नसक्नुपर्छ । रिसको बेला मौन बस्नसके रिसको प्रभाव स्वतः न्यून हुनजान्छ । धेरै खुशी भएका बेला र धेरै निराश भएका बेला भावनामा नियन्त्रण गर्नसक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले । रिसको जननी नै अपेक्षा हो । अपेक्षा पूरा भयो भने खुशी हुन्छौं पूरा भएन भने यसले दुःखी र दुःखले निराशा जन्माउँछ । निराशाले रिस उत्पन्न गर्छ र रिसले समस्या सृजना गर्न थाल्छ । अपेक्षा, खुशी, दुःख, निराशा र रिसमा हाम्रो नियन्त्रण हुन सक्नुपर्छ । भावनात्मक बुद्धिमत्ताले तनाव व्यवस्थापनमा पनि सञ्जीवनीको भूमिका निर्वाह गर्ने गर्छ । भावनात्मक बुद्धिमत्तालाई आधारभूतरूपमा निम्न चार तरीकाले अझ विकसित र व्यवस्थित गर्न सकिन्छ : स्वयं जागरुक बन्नु  भावनात्मक रूपमा सक्षम हुन व्यवहारगत रूपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ । कम्तीमा बीस मिनेट भए पनि प्रत्येक दिन आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ ।  आफ्नो भावनालाई परिस्थितिअनुरूप ढाल्नु  आफ्नो भावलाई झेलिरहेको परिस्थितिअनुरूप ढाल्ने प्रयास गर्नुपर्छ । हामीलाई रिस उठ्ने मुख्य कारण नै परिणाम वा परिस्थिति हाम्रो इच्छाअनुसार नहुनु हो । रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ । सही र गलत भाव भन्ने केही हुँदैन यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ । बुझ्नुपर्ने के रहेछ भने आगो–पानी, विष–अमृत, सिंह–गोरू, मयूर–सर्प, सर्प–मुसो सब एकआपसका विपरीत प्रकृति बोकेका छन् तर पनि सब शान्त, अनुशासित र मिलेर बसेका रहेछन् । तसर्थ, रिस, ईर्ष्या, प्रेम, मोह आदि भाव आएको बेला त्यसभावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई कामलाग्ने दिशामा उपयोग गर्नुपर्छ । स्वउत्प्रेरणा  जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ । कामको समय कुनै पनि नकारात्मक विचारले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि शुरू हुन्छ । यस्ता विचारहरूबाट टाढा बस्नुपर्छ । हामी जसरी आगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । आजकल बजारमा मोटिभेशनल वक्ताहरूको वा भनौं उत्प्रेरणा वक्तव्य दिनेहरूको व्यवसायीकरण भएको देखिन्छ । तर, स्मरण रहोस् कुनै पनि मोटिभेशनल स्पिकर तपाईंलाई तपाईंभन्दा बढी जानेको हुँदैन । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हौं । अरूको भाव बुझ्न सक्नु  भावनात्मक रूपमा दक्ष वा योग्य व्यक्तिले अरूको भावना बुझ्ने प्रयास गरिरहेको हुन्छ । धेरै जानकारी भएको क्षेत्रमा कम बोल्नुपर्छ र कम जानकारी भएको क्षेत्रमा पनि कम नै बोल्नुपर्छ । हामी जत्ति धेरै कम बोल्छौं गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ । जति कम गलत बौल्छौं उत्ति कम समस्यामा फस्छौं । धेरै सुन्ने बानी बसाल्नुपर्छ । यसबाट केही न केही सिकिन्छ नै । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्व दिइएको पाइन्छ । अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । वर्तमानमा हरेक व्यक्तिले चाहन्छन् कि उसलाई सबले सुनून्, सम्मान गरून् । तर, अरूलाई सुन्ने र सम्मान दिने धैर्य र साहस थोरैमा हुन्छ । तसर्थ, अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्ततः परिवारकै लागि त  हो नि ।  आफ्नो भावनात्मक दक्षतालाई कार्यालयमा सहकर्मीसँग राम्रो व्यवहारगत सम्बन्ध स्थापित गर्न उपयोग गर्न सकिन्छ । जागीरमा आफ्नो कार्यदक्षता विकसित गर्न, परिवार र समाजमा आफूभन्दा कान्छोसँग मधुर र अग्रजसँग विश्वसनीय सम्बन्ध निर्माण गर्न सकिन्छ । शैक्षिक क्षेत्रमा शिक्षक, समाजमा व्यक्तिविशेषसँग, साथीभाइसँग सुमधुर सम्पर्क बनाउन सकिन्छ । भावनात्मक बुद्धिमत्ताले यस प्रकृतिमा विद्यमान हरेक मान्छे, जीवको उत्तिकै महत्व र महत्वपूर्ण भूमिका छ भनी सिकाउँछ । लेखक दीपेश कर्ण वीरगञ्ज कलेजमा अध्यापन गर्छन् ।