काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ६६ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा २१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा विद्युत विक्रीबापत रू. ५ करोड ७६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७ करोड पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा भने रू. ११ करोड ८८ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६१ पैसा रहेकोमा चालू आवमा बढेर २७ रुपैयाँ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १२ गुणा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ रहेको छ ।
रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस