भारतीय रुपियाँ सटही नहुँदा समस्या

आफूसँग पैसा हुँदाहुँदै स्थानीय बासिन्दाले पैसाको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात् भारतसँग सिमाना जोडिएका क्षेत्रका नेपालीलाई नेपाली पैसाको अभाव भइरहेको छ । नेपाली पैसाको अभावको मुख्य कारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो । पशुपतिनगर बजारसहित जिल्लाको पूर्वी क्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिक्री गर्दा बढी मात्रामा भारत जाने गरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुने गरेको छ तर भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभावको समस्या झेल्नु परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।