काठमाडौं । चीनको केन्द्रीय बैंकले मंगलवार फेरि ब्याजदर घटाएको छ । कोभिडसम्बन्धी नियन्त्रण खुकुलो बनाउँदा पनि सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले दुईओटा बेञ्चमार्क ब्याजदर घटाएको हो ।
गत मंगलवार र बिहीवार गरेर पीबीओसीले दुई पटक ब्याजदर कम गरेको थियो अनि वित्तीय बजारमा अर्बौं युयान खन्याएको थियो । अहिले चीन अनि अमेरिका र अन्य पश्चिमी देशहरू मौद्रिक नीतिको मामिलामा विपरीत धुव्रमा छन् । महँगी नियन्त्रण र वित्तीय बजारमा पैसाको आपूर्ति कसिलो बनाउन शृङ्खलाबद्ध रूपमा ब्याजदर बढाएका थिए ।
मंगलवार एक वर्षे कर्जा प्राइम दर (एलपीआर) ३ दशमलव ६५ प्रतिशतबाट घटाएर ३ दशमलव ५५ प्रतिशतमा झारिएको पीबीओसीले बताएको छ । पाँच वर्षे एलपीआर दर पनि ४ दशमलव ३ प्रतिशतबाट घटाएर ४ दशमलव २ प्रतिशतमा झारिएको छ ।
अधिकारीहरूले गएको बिहीवार मध्यम अवधिको कर्जा सुविधा १० आधार बिन्दुले घटाउँदै २ दशमलव ६५ प्रतिशतमा ल्याएको थियो । बैंकहरूलाई मध्यम अवधिका कर्जा सुविधामार्फत २ खर्ब ३७ अर्ब युआन दिने पीबीओसीले भनेको छ । हालैका हप्तामा चीनमा एक पछि अर्को गर्दै कमजोर आर्थिक तथ्यांकहरू सार्वजनिक भइरहेका छन् ।
मेमा युवा बेरोजगारी दर २० दशमलव ८ प्रतिशतको कीर्तिमानी स्तरमा उक्लिएको छ । फेब्रुअरीयता पहिलो पटक निर्यात खुम्चिएको छ । शीर्ष अर्थशास्त्री र सरकारका आर्थिक सल्लाहकार लिउ युआनछुनले गएको महीना साना तथा मझौला आकारका व्यवसायहरूमाथिको आर्थिक भार कम गर्न कर्जाको लागत कम गर्न नियामकहरूलाई अनुरोध गरेका थिए ।
चीनले अर्थतन्त्रको विविध क्षेत्रलाई लक्षित गरेर स्टिमुलसका उपायहरू घोषणा गर्ने खबरहरू आइरहेका छन् । यो महीना चीनको ६ ठूला सरकारी वाणिज्य बैंकहरूले खपत बढाउनका लागि बचतकर्ताहरूले निक्षेपमा पाउने ब्याजदर घटाएका थिए । तर, ब्याजदर घटाएर मात्रै घरपरिवार र कम्पनीहरूको ऋण र खर्च बढ्न नदेखिएको विश्लेषण गरिएको छ ।
सरकारी कम्पनीहरूलाई नै प्रत्यक्षरूपमा थप खर्च गर्न लगाउनु पर्ने क्यापिटल इकोनोमिक्सका अर्थशास्त्रीहरूले गएको हप्ता एउटा नोटमा भनेका थिए । कर्जामा चुर्लुम्म डुबेको घरजग्गा बजार उकासिन सकेको छैन । यस्तोमा सरकारले संघर्षरत् क्षेत्रहरूलाई लक्षित गरेर उपायहरू ल्यायो भने केही असर देखिएला कि ? एजेन्सी