हिमाली इलाकामा बढ्दो प्रदूषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा गत चैत १४ बाट सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सकिएको छ ।
काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो ।
सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।
संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीवार सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन शुरू गरिसकेको छ ।
बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।