धनुषा । कृषि विकास बैंक लिमिटेडले धनुषामा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको मधेश प्रदेश कार्यालयले गत शुक्रवार विदेह नगरपालिका–६ स्थित जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेको हो । ग्लोबल मनी सप्ताहका अवसर पारी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, आमा समूहका प्रतिनिधिलगायत ७५ जना सहभागी भएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले प्रशिक्षण गरेका थिए । बैंकको मधेश प्रदेश कार्यालयका निर्देशक नवीन कुमार पाख्रिनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डल, बैंकको खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठ, पत्रकार जितन मण्डल लगायत उपस्थित थिए ।
कार्यक्रममा उपमहाप्रबन्धक सुवेदीले विश्व आर्थिक मन्दी चलिरहेको सन्दर्भमा नेपालमा यसको नकारात्मक असर पर्न नदिन हरेक व्यक्तिले आर्थिक कारोबारमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । आर्थिक गतिविधिमा संलग्न गृहिणीदेखि घरमूलीसम्म सबैले बचतको बानी विकास गर्नुपर्ने, विलाशी वस्तुको उपभोग बढाउनुभन्दा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्न सुझाव दिए ।
कृषि विकास बैंकले ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको हुँदा हरेक व्यक्तिले बैंकिङ्ग माध्यमबाट आर्थिक कारोबार गर्दा बचत सुरक्षित हुने, आर्थिक कारोेबार पारदर्शी हुने लगायत विभिन्न फाइदा हुने कुरामा उनले जोड दिए ।
विश्व बैंकको आह्वानमा सन् २०१२ देखि मार्च २० देखि मार्च २६ सम्म ग्लोबल मनी सप्ताह मनाइन थालिएको छ । विश्व आर्थिक मन्दीसँग जुधिरहेको परिवेशमा यो वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ तय गरिएको छ ।