सल्यानका स्थानीय तहको बेरुजु ५४ करोड बढी

भदौ ९, सल्यान । सल्यानका स्थानीय तहमा ५४ करोड बढी रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिकामा गरेर ५४ करोड ४० लाख ८७ हजार रुपैयाँ बेरुजु निस्किएको हो ।  सबैभन्दा बढी सिद्ध कुमाख गाउँपालिका र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा बेरुजु देखिएको छ । ५३ करोड २३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा सिद्ध कुमाख गाउँपालिकामा ४ करोड ९३ लाख ७ हजार बेरुजु रहेको छ ।  यो लेखा परीक्षण गरिएको कुल बजेटको ९ दशमलव २८ प्रतिशत हो । यस्तै त्रिवेणी गाउँपालिकाको बेरुजु रू. २ करोड २१ लाख १७ हजार अर्थात् ३ दशमलव ४७ प्रतिशत हो ।  कपुरकोट गाउँपालिकामा ४ दशमलव २० प्रतिशत बेरुजु देखिएको छ । ६६ करोड ७१ लाख २१ हजारको लेखा परीक्षण गर्दा रू. २ करोड ७९ लाख ९१ हजार बेरुजु फेला परेको छ । ७५ करोड ८९ लाख ३२ हजारको लेखा परीक्षण गराउँदा कालिमाटी गाउँपालिकाको रू. ३ करोड ९६ लाख ४८ हजार बेरुजु देखिएको छ । कुमाख गाउँपालिकाको ६ करोड ४७ लाख २ हजार बेरुजु देखिएको छ । जुन लेखा परीक्षण गरिएको बजेटको ७ दशमलव ७२ प्रतिशत हो ।  छत्रेश्वरी गाउँपालिकाको रू. ८ करोड ९२ लाख २ हजार, दार्मा गाउँपालिकाको रू. ४ करोड ८९ लाख २ हजार बेरुजु रहेको छ । यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ५ करोड ३५ लाख ९३ हजार, बागचौर नगरपालिकामा रू. ९ करोड ७४ लाख २ हजार र शारदा नगरपालिकाको ८ करोड ४० लाख ८४ हजार बेरुजु देखिएको छ ।