विराटनगर। कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको ६ महीनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनमा आउने खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अौद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौओटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । तिनमा सेनेटरी प्याड र खाद्य सामग्री उत्पादन भए पनि परिमाण कम छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरूपमा सञ्चालन गरे पूर्वी पहाडी क्षेत्रको जनजीविका सहज हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’ ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।