किन त्रस्त बन्दैछ प्रविधि क्षेत्र, कहिले रोकिएला रोजगारी कटौतीको होड ?

काठमाडौं । अमेरिकी वेब सेवाप्रदायक कम्पनी याहूले २० प्रतिशतभन्दा धेरै कर्मचारीलाई कामबाट निकाल्दैछ । कम्पनीको व्यापार पुनःसंरचनाको योजना अनुसार कम्पनीले ८ हजार ६०० कर्मचारीहरूमध्ये सो स्तरमा कर्मचारीलाई बर्खास्त गर्दैछ । कम्पनीले विज्ञापन एकाईको पुनःसंरचना गर्दैछ । वर्षको अन्त्यसम्ममा यो विभागका आधाभन्दा धेरै कर्मचारीले जागिर गुम्नेछ । हप्ताको अन्त्यमा मात्रै झन्डै १ हजार कर्मचारी प्रभावित हुने बताइएको छ ।  मागमा आएको कमी, उच्च महँगी र ब्याजदरमा भइरहेको वृद्धिका कारण प्रविधि कम्पनीहरू मारमा परेका छन् । यस्तोमा कम्पनीहरुले धमाधम रोगारी कटौती गरिरहेका छन् ।  अवस्था फेरिँदै गर्दा माइक्रोसफ्ट, डिज्नीले पनि खर्च कम गर्न व्यापक कर्मचारी कटौतीको घोषणा गरेका छन् । माइक्रोसफ्टको स्वामित्वको सोर्स डेभलपर कम्पनी गिटल्याबले पनि १० प्रतिशत कर्मचारीलाई बोरोजगार बनाउँदैछ । कठिन व्यापारिक अवस्थातर्फ औंल्याउँदै कर्मचारी कटौती गर्न लागेको हो । यसअघि नै माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारी कटौती गरिसकेको छ । वाल्ट डिज्नीले पनि हालै ३ दशमलव ६ प्रतिशत कर्मचारीलाई निकाल्ने घोषणा गरेको थियो । एजेन्सी