काठमाडौं (अस) । नेपाल सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले आईआईडीएस फेलोसिप कार्यक्रम सुरु गरी ४३ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम अवसरमा आईआईडीएस, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन पब्लिक पोलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएस र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । फेलोसिपको मुख्य उद्देश्य शक्षित युवाको क्षमता वृद्धि गर्ने र तिनलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारसँग संलग्न भई सार्वजनिक प्रशासन एवं सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धानमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर दिनु हो ।
तोकिएका विश्वविद्यालयबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत काकार्यक्रममा स्नातकोत्तर पूरा गरेका १ सय युवालाई प्रत्येक वर्ष यो अवसर दिइनेछ । पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँचवर्षे अवधिमा कार्यान्वयनमा ल्याइनेछ । पहिलो चरणअन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोस्रो चरणमा सरकारले यो कार्यक्रमलाई संस्थागत गर्ने बताइएको छ ।
सोही अवसरमा आईआईडीएस र सांग्रिला डेभलपमेन्ट बैंक तथा प्रभु क्यापिटलबीच यो कार्यक्रमका लागि आर्थिक स्रोत जुटाउने सम्बन्धमा छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आईआईडीएसले कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्डमा सूचीकृत विभिन्न पब्लिक लिमिटेड कम्पनी र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ ।