नवौं भेडेटार फुड फेष्टिवल शुरु (फोटो फिचर)

पुस १८, धनकुटा । प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल शुरु भएको छ ।  होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेष्टिवल शुरु भएको हो । फेष्टिवलको उद्घाटन प्रदेश नं १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका हुन् । उक्त अवसरमा मन्त्री कार्कीले भेडेटारको विकासको लागि प्रदेश सरकार सधै तयार रहेको बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिएको हो ।  धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गरिएको हो ।  तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु गरी १५ ओटा स्टलहरु रहेका छन् । फेष्टिवलमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको छ । फेष्टिवल उद्धाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ । फेष्टिबलको अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् भने डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । करीब १९ लाख खर्च हुने अनुमान तथा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए ।  यस्तै, भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।                                                                    तस्वीर : ईश्वर थापा/आर्थिक अभियान