२०२२ मा २० करोड मानिस बेरोजगार हुने, रोजगारी सिर्जनामा ५ करोडले कमि आउने - आईएलओ

माघ ३, काठमाडौं । कोरोना भाइरसको महामारी लम्बिदै गएपछि विश्वको रोजगारी बजारमा यस अघि सोचिएको भन्दा ढिला पुनःबहाली आउने देखिएको छ ।  अन्तर्राष्ट्रि श्रम संगठन (आईएलओ) ले सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन २०२३ सम्म पुनः बहाली अनिश्चित भएको बताएको हो ।  आईएलओका अनुसार विश्वको रोजगार बजार कोभिड–१९ देखिनु पूर्वको स्तरमा आउन कम्तिमा पनि सन् २०२३ सम्म लाग्नेछ ।  महामारीले कस्तो बाटो लिन्छ र यसको अवधि कति हुन्छ भन्नेबारे छाएको अनिश्चयका कारण पुनःबहाली अनिश्चित बनेको बताइएको छ ।  महामारी पूर्वको स्तरको तुलनामा सन् २०२२ मा विश्वमा रोजगारी करीब ५ करोड २० लाख कम हुन सक्ने आइएलओको भनाइ छ ।  यो सन् २०२१ को जुनमा गरिएको अघिल्लो प्रक्षेपणको तुलनामा झन्डै दोब्बर हो । अवरोधहरुले सन् २०२३ मा पनि निरन्तरता पाउने अनि आगामी वर्ष करीब २ करोड ७० लाख कम रोजगारी  सिर्जना हुने भन्दै पुनःबहाली सुस्त अनि अनिश्चित हुने चेतावनी आईएलओले ‘आर्थिक रोजगारी तथा सामाजिक परिदृश्य २०२२’ शीर्षकको प्रतिवेदनमा दिएको छ ।  विश्वको श्रम बजारको परिदृश्य आईएलओले पछिल्लो सर्वेक्षण गरेयता खस्किएको अनि  श्रम बजारको प्रदर्शन महामारीपूर्वको स्तरमा फर्किएपनि यो आगामी वर्षहरुमा अनिश्चित नै रहन सक्ने प्रतिवेदनमा भनिएको छ ।  आफूहरुले प्रक्षेपण पुनरवलोकन गर्नुको पछाडि असंख्यक कारकहरु रहेको आईएलओका महानिर्देशक गाई राइडरले बताएका छन् । यसको मुख्य एउटा कारक चाँहि कोरोना भाइरसको महामारी र मुख्यतः भाइरसको ओमिक्रोन भेरियन्ट भएको उनको भनाइ छ । समग्रमा सन् २०२२ मा २० करोड ७० लाख मानिसहरु बेरोजगार हुने अनुमान गरिएको छ ।  तर कयौं मानिसहरुले जागिर छोडेको अनि श्रम बजारमा फर्कि नसकेकोले प्रभाव अति नै धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । रोजगारी घटेको भएपनि कार्य घन्टामा अनुमानित कमीमा विगत दुई वर्षमा राम्रो सुधार आएको बताइएको छ ।  सन् २०२१ मा महामारी पूर्वको तुलनामा १२ करोड ५० लाख र सन् २०२० को तुलनामा २५ करोड ८० लाख थोरै रोजगारी भएको आईएलओको प्रक्षेपण छ ।