समयको बर्बादी मात्रै हो त भिडियो गेम्स ?

काठमाडौं । अहिले जो-कोहीको स्मार्टफोनमा २-४ वटा भिडियो गेम्स भेटिन्छन् । बालकदेखि बूढासम्म हरेक व्यक्ति दिनभरमा कुनै न कुनै बेला फोनमा भिडियो गेम नै खेलिरहेका हुन्छन् । छोराछोरीको गेमको लत कसरी छुटाउने भन्ने चिन्ताले हामीमध्ये कतिपयलाई सताएको पनि होला । बाबुआमा पुस्तामा पनि यसको लत होला ।  यो सामान्य गतिविधिमा मात्रै सीमित छैन । केहीले त यसलाई पेशा नै बनाएका छन् । केही मानिस त भिडियो गेम खेल्दा खेल्दा पागल नै भएका भिडियो सामाजिक सञ्जालमा हामीले देखेका छौं । कतिपय गेमकै कारण आपराधिक गतिविधिमा संलग्न भएको, बाबुआमाले भिडियो गेम खेल्न नदिएको भन्दै आत्महत्या गरेका घटनाहरू पनि हामीले सुनेका छौं ।  सन् २०१५ मा २० वर्ष आसपासका एक चौथाइ मानिसहरू कामै नगरी बस्ने गरेको अमेरिकी प्राध्यापक एरिक हर्सटको अनुसन्धानले देखाएको थियो । अहिले यो संख्या झनै बढेको छ । यी मानिसहरू के गरेर बस्छन् त ? हर्सटका अनुसार युवाहरू हरेक दिन धेरै समय भिडियो गेम खेल्नमै बिताइरहेका छन् ।  भविष्यका लागि शीप सिक्नुपर्ने समय भिडियो गेम्समा नष्ट गरेपछि भविष्यमा यिनीहरूले जागिर पाउने सम्भावना निकै कम भएको हर्सट बताउँछन् । यिनीहरू भविष्यमा बाबुआमामाथि आश्रित रहने, विद्यालय तह वा उच्च शिक्षा पूरा नगर्ने, बेरोजगार हुने, उनीहरूको लायक काम नै नभेटिने जस्ता समस्याहरू चर्किने अनि यसको असर अर्थतन्त्रमा समेत पोखिने उनको भनाइ छ ।  उनको अनुसन्धानले भिडियो गेम्सका कारण युवा पिँढीको भविष्य वर्बाद भइरहेको हो ? भन्ने बहसलाई तीव्र पारेको छ । गएको १० वर्षमा कम्प्युटर गेम्सको संसारमा उल्लेख्य विकास भएको छ । यो जगत पहिलाको भन्दा झनै आकर्षक बनेको छ । तर ग्रयान्ड थेफ्ट जस्ता केही गेमहरू चिन्ताकारी बनेका छन् । यी गेममा हिंसा अत्यधिक हुन्छ । यसले प्रयोगकर्ताहरूलाई जोखिम उठाउन प्रेरित गर्छ । तर, गेमिङले अन्य खालको गतिविधि रोकिदिन्छ । कसरत हुँदैन । परिवारको साथमा बसेर खानपिन कम हुन्छ । पढाइ लेखाइ घट्छ । देश दुनियाको खबर थाहा हुन्न । भिडियो गेमको खेलाडीमा सीमित हुन्छ । ‘मेन डिस्कनेक्टेड’ शीर्षकको किताबका लेखकका अनुसार केटीको तुलनामा केटाहरू धेरै गेमप्रति आकर्षित भइरहेका छन् ।  केही पुरुषका लागि गेमिङ सामाजिक यर्थाथबाट भाग्ने माध्यम बनेको छ । यसको नतिजाका कारण शिक्षालगायत केही क्षेत्रमा महिलाहरूले पहिलाको भन्दा राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न पुरुषहरूलाई गाह्रो भइरहेको छ । यसले उनीहरूलाई झन् झन् गेमिङको संसारमा धकेलिरहेको छ ।  लट्टु भएर गेमिङमा लाग्नेहरूले केही सिक्दैनन् भन्नु चाहिँ सरासर गलत हो । वाशिङ्टन युनिभर्सिर्टीको सेन्टर फर गेमिङ साइन्सेजमा गेमलाई  मस्तिष्क वैज्ञानिकहरूलाई गेमिङ प्रविधिको प्रयोग गर्न सिकाइन्छ । सेन्टर फर गेमिङ साइन्सेजमा प्राध्यापक रहेका झोरान पोपोविचले माननव शरीरमा प्रोटिनले के काम गर्छ भन्ने गुत्थी सुल्झाउन फोल्ड इट नामक गेम बनाए ।  १३ वर्षसम्म पनि वैज्ञानिकहरूले यो गुत्थी सुल्झाउन सकेनन् । तर, फोल्ड इटको माध्यमबाट १० दिनमै यो गुत्थी सुल्झाउन वैज्ञानिकहरू सफल रहे । निकट भविष्यमा गेमिङमै पनि रोजगारी सृजना हुने आशा पोपोविचको छ । आउने केही वर्षभित्र अनलाइन न्यूरो साइन्स प्रयोगशालाहरू खुल्न सक्ने उनी बताउँछन् । गेमिङलाई समाज कल्याण र ज्ञान बढाउने पनि प्रयोग गर्न सकिन्छ ।  फोल्ड इट गेम कम विज्ञान अधिक हो । तर, मूलधारका गेमहरूबाट यस्तो अपेक्ष गर्न सकिन्छ त ? गेमलाई शौखको रूपमा मात्र लिन नहुने बेलायतस्थित म्यान्चेष्टर महानगरीय विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक टम ब्राक । यसबाट कयौं कौशल सिक्न सकिने उनको दाबी छ ।  युट्यूब भिडियोमा नामचिन गेमरको हाथलाई नियालेर हेर्ने हो भने एक मिनेटमा उसको औंलाहरूले ८०० भन्दा धेरै गतिविधि गर्छ । यो विलक्षण कौशल हो । यो भनेको पियानो बजाउनु जस्तै भएको ब्राक बताउँछन् । पियानोको रियाज र गेमिङलाई उनी एउटै भन्छन् ।  विश्वभर लाखौं डलर पुरस्कार राशीका ई–स्पोर्ट हुन थालेका छन् । यसलाई ओलम्पिकमै समावेश गर्नुपर्ने माग पनि उठेको छ । भिडियो गेम खेल्नका लागि मानिसहरूले एक अर्कासँग समन्वय गर्ने, यसका कारण मानिसहरूमा संयम बढेको, खेल्ने क्रममा रचनात्मक तरीकाले सोच्ने, नेतृत्व र कुशलता बढाउन मद्दत गरेको पनि नयाँ नयाँ अनुसन्धानहरूले देखाइरहेको ब्राक बताउँछन् । भिडियो गेममा खेलाडीहरू आपसी समस्या सुल्झाउने गुण सिक्न थालेका छन् । यसले उनीहरूको अन्य काममा पनि लाभ मिल्ने ब्राकको भनाइ छ ।  त्यसो भए भिडियो गेम समयको बर्बादी मात्रै हो त ? यसले मानिसहरूलाई सामाजिक वास्तविकताबाट टाढा लैजान्छ । एक्लोपना बढाउँछ । विफल बनाउँछ । तर, गेम खेल्नै नहुने भने होइन । यसलाई समाजमा योगदानका लागि प्रयोग गर्न सकिन्छ । भिडियो गेमबाट जीवन उपयोगी कयौं गुण सिक्न सकिन्छ ।  यसलाई नैतिक चिन्ताको मुद्दा बनाउन हुँदैन । तर, सामान्य कामलाई पनि गेम जत्तिकै रोचक बनाउन सकिन्छ त भनेर सोच्नुपर्ने ब्राकको भनाइ छ । यस्तो गर्न मिल्दैन भने पनि गेममा सिकिने गुणहरूको आदर गर्नेबारे सोच्नुपर्ने उनको जिकीर छ । एजेन्सी