पर्वत । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङ जाने आउने पर्यटकका कारण यतिबेला पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ हुन थालेको छ । दैनिक सयौंको संख्यामा पर्यटक कुस्मा बजार हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । सडकमा आन्तरिक र बाह्य पर्यटक जति नै दौडिए पनि त्यसको सम्बन्ध कुस्मासँग थिएन । कुस्मासहित पर्वतमा रहेका प्राकृतिक पर्यटकीय गन्तव्य प्रवद्र्धन नहुनु तथा आधुनिक मानव निर्मित गन्तव्यको पनि अभावका कारण आउने जाने मात्रै हुन्थ्यो । नेपालकै पहिलो अग्लो र लामो झोलुंगे पुल कुस्मा र कटुवाचौपारी जोड्नेगरी बन्यो । यसपछि भने मुस्ताङ आवतजावत गर्ने पर्यटक कुस्मा बजारभित्र छिर्न थाले ।
यसको केही समयमा बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुंगे पुल बनेपछि पर्यटक झनै आकर्षित भए । बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि बनाइएको ५६७ मिटर लम्बाइको झोलुंगे केही महीना अघिदेखि सञ्चालनमा आएको छ । यसले पनि पर्यटक तानेको छ ।
जिल्लामा रहेका झोलुंगे पुलले मात्र पर्यटकलाई आकर्षित गर्न नसकिरहेका बेलामा ‘द क्लिफ’ कम्पनीले शुरू गरेको बञ्जीजम्पले भने जिल्लामा पर्यटकको चहलपहल एकाएक बढाइदिएको छ । स्काइ साइक्लिङ, स्विङ र बञ्जीमा दैनिकजसो पर्यटकको आवागमन हुँदा बजार क्षेत्रमा चहलपहल बढेको छ । साहसिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतमा अहिले विश्वकै दोस्रो लामो जीपलाइन बन्दै छ । गत मङ्सिरदेखि निर्माण थालिएको जीपलाइनको अहिलेसम्म करीब ७० प्रतिशतभन्दा बढी काम पूरा भएको हार्नेस जीपलाइन प्रालिका अध्यक्ष विदुर पौडेलले बताए । भारतीय निर्माण कम्पनी श्याम जीपलाइनका इञ्जिनीयर नवीन मेस्सीका अनुसार पर्वतमा बन्न लागेको जीपलाइनको लम्बाइ १ हजार ४०० मिटर रहेको छ । रासस