काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । मागभन्दा बढी आवेदन पर्न आएकाले जेठ १४ गतेसम्म मात्र आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्रीपछि कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारणमा विक्री गर्नेछ ।
१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री पछि बाँकी रहेको शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । यी वाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ ।
दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउने शेयर विक्री अवधि छिटोमा जेठ ३० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ८ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै माग बमोजिम आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न सुरु गरेको हो ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।