‘अफलाइन राइड’ गर्दा जोखिमै जोखिम

गत माघ ८ गते राती एक जना पठाओ राइडर अपहरणमा परे । २५ वर्षीय राइडर प्रविन राईलाई २१ वर्षीय सुमन तामाङले काठमाडौँको कोटेश्वरबाट ललितपुरको धापाखेलसम्म पुर्याइदिन भने । राती ११ः३० बजेको समयमा प्रविन सुमनलाई बोकेर धापाखेलतर्फ हुईकिए ।धापाखेलमा सुमन तामाङका २६ वर्षीय साथी मीनराज राई थिए । धापाखेल पुगेपछि सुमन र उनका साथी मीनराजले प्रविनलाई लुटपाट गरी मुखमा बाक्लो टेप लगाएर हातखुट्टा बाँधेर छोडिदिए । राइडर राईको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र उनको साथमा भएको ८ हजार लिएर उनीहरूका २ जना त्यहाँबाट भागे । बलम्बुस्थित चन्द्रागिरी रिकण्डिशन सोरुममा मोटरसाइकल बेच्न लाग्दै गरेको अवस्थामा २ भाई नै समातिएका थिए ।अनलाइनमार्फत बुकिङ नलिएर कम्पनीलाई तिर्नुपर्ने ‘कमिशन’ जोगाउन खोज्दा राइडर आफ्नै असावधानीले निम्त्याएको घटना थियो त्यो । त्यस्तै जेठ २६ गते बिहीबार दिउँसो जडीबुडीमा दुर्घटना भयो । राइड सेयरिङ एप्स ‘इनड्राइभर’ मार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर टाप कसे ।यो चाहिँ राइड सेयरिङ मार्फत यात्रा गर्ने यात्रुको असावधनीले निम्त्याएको जोखिम थियो । किनभने, आधिकारिक रुपमा दर्ता भए नभएको, कथमकदाचित दुर्घटना भए बीमा दाबी गर्न सकिने वा नसकिने, आफूलाई यात्रा गराउने राइडरको नाम, ठेगाना र सम्पर्कका विभिन्न माध्यम भए नभएको यकिन गरेर मात्रै यात्रु गर्नु पर्दथ्यो ।इनड्राइभर त नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नै छैन । त्यसकारण यसको प्रयोग गर्नु जोखिम हुन्छ ।अफलाइन राइड नगर्नेनेपालमा सञ्चालित राइड सेयरिङ कम्पनीहरुमध्ये पठाओ लगायतका केहीले राइडर र यात्रुको बीमाको व्यवस्था गरेका छन् । औषधि उपचारका लागि १ लाख र अङ्गभङ्ग भएको अवस्थामा १० लाखसम्म बीमा वापत दाबी गर्न सकिन्छ ।यस्तै, राइडर वा चालक को आउँदैछ ? कति पटक चलाएको मान्छे आउँदैछ ? उसको मोबाइल नम्बर कति हो ? बाइक नम्बर कति हो ? सबै पहिल्यै जानकारी हुन्छ । उक्त जानकारी यात्रुहरुले आफू यात्रामा रहँदा आफन्तलाई ‘सेयर’ गर्न पनि सक्छन् । यसरी आफूलाई यात्रा गराईरहेको चालक वा राइडरको विवरण आफन्तलाई सेयर गरेपछि कसैगरी ढिला भएको खण्डमा आफन्तले चालकलाई सम्पर्क गर्न सक्छन् । चालकले गल्ती गरेको अवस्थामा उ विरुद्द उजुरी गर्न पनि सजिलो हुन्छ ।त्यसकारण, राइड सेयरिङमा ‘अनलाइन’ राइड विश्वव्यापी अभ्यास छ । यदि राइडर वा चालकले ‘अफलाइन जाउँ’ भन्ने प्रस्ताव गरेपनि यात्रुले ‘अनलाइन’ नै यात्रा गर्छु भन्नुपर्ने पठाओ नेपालका देशीय निर्देशक असिममानसिंह बस्नेत बताउँछन् ।