वैशाख ३०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले बिट्क्वाइनमा भुक्तानी गरेर सवारी साधन खरीद विक्रीमा रोक लगाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी चिन्ताका कारण यसो गरिएको एक ट्विटमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बताएका हुन् । उनको सो ट्विटपछि बिट्क्वाइनको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो भने टेस्लाको शेयरमूल्य पनि ओरालो लागेको थियो ।
सवारी साधन खरीद गर्ने क्रेताहरुबाट बिट्क्वाइनमा समेत भुक्तानी स्वीकार गर्ने मार्चमा कम्पनीले गरेको घोषणाप्रति केही वातावरणविद् र लगानीकर्ताहरुले आलोचना चिन्ता व्यक्त गरेका थिए । कम्पनीले डेढ अर्ब डलर बराबरको बिट्क्वाइन किनेको गत फेब्रुअरीमा सार्वजनिक गरेपछि बिट्क्वाइनको भाउमा उच्च वृद्धि भएको थियो भने समग्र क्रिप्टो बजार नै उकालो लागेको थियो ।
तर बिहीवार कम्पनी अघिल्लो अभिव्यक्तिबाट पछाडि हट्यो । आफूहरु बिट्क्वाइन माइनिङ र कारोबारका लागि खनिज इन्धन विशेषगरी कोइलाको तीव्र प्रयोगबारे चिन्तित रहेको ट्विटमा मस्कले भनेका छन् ।
क्रिप्टोकरेन्सी राम्रो अवधारणा भएपनि वातावरणमा नै क्षति पुर्याएर यसलाई बनाउन नसकिने उनको भनाइ छ । कम्पनीले आफूसँग भएको कुनै पनि बिट्क्वाइन नबेच्ने अनि यसलाई बिट्क्वाइन माइनिङका लागि दिगो ऊर्जाको प्रयोग गर्न थालेपछि मात्रै कारोबारका लागि प्रयोग गर्ने पनि उनले बताए ।
केहीले भने मस्कको पछिल्लो अभिव्यक्ति क्रिप्टो बजारलाई प्रभावित बनाउने अर्को चाल भएको पनि बताएका छन् । मस्कको ट्विटका कारण क्रिप्टो बजारबाट ३ खर्ब ६५ अर्ब ८५ करोड डलर गुमेको थियो । बिट्क्वाइन, इथर र आरएक्सपी तीन ओटै प्रमुख डिजिटल मुद्राको भाउ घटेका थिए । एजेन्सी