धरानमा स्मार्ट बसपार्क निर्माण सुरु

धरान (अस) । दुई दशकदेखि विवादित बन्दै आएको धरानमा स्मार्ट बसपार्क निर्माण सुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना सुरु भएको हो । धरानको गौरवको आयोजना भएकाले यसलाई चाँडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले स्मार्ट बसपार्क निर्माण सुरु भइसकेको बताए । उनले भने, ‘यो धरानको गौरवको आयोजना हो । यसलाई चाँडै सम्पन्न गर्न लागिपरेका छौं ।’ उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माण सुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम सुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दै छौं ।’ डीपीआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआरअनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहिते ३ तलाको हुनेछ । डिजाइनअनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी सतहमा ४९ वटा बस र १५ वटा साना गाडी राख्ने ठाउँसमेत हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ भने त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ । डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यापारिक कोठा हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा खाली स्थानमा फूलबारी पनि निर्माण गर्ने उपमहानगरको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

सम्बन्धित सामग्री

धरानमा ‘स्मार्ट बसपार्क’ निर्माण सुरु

तीन वर्षभित्र धरानमा ‘स्मार्ट बसपार्क’ बनाउने तयार स्वरुप काम थालिएको छ । धरान– ८ तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र उक्त बसपार्क बन्ने भएको हो । निर्माणका लागि टेन्डर आह्वानपछि ठेक्का नै लागेर यसै सातादेखि निर्माण कार्य सुरु भएको छ । दुई दशकअघिदेखिको योजनाले बल्ल मूर्तरूप लिन लागेको हो ।