काठमाडौं (अस) । काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतका लागि पास नपाएपछि रेमिट्यान्स भुक्तानीमा प्रभाव पर्ने भन्दै सहजीकरण गर्न रेमिट्यान्स कम्पनीहरूले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । कम्पनीहरूको छाता संगठन नेपाल रेमिटर्स संघले थोरैभन्दा थोरै कर्मचारीबाट काम गर्न पासको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको छ ।
निषेधाज्ञामा थप एक साता कडाइ गरिने भनिएपछि संघले उक्त आग्रहसहित निवेदन दिएको हो । केन्द्रीय बैंकले रेमिट्यान्स भुक्तानी रोक्न नहुने भएको भन्दै प्रतिकम्पनी एक–दुईओटा सवारीको अनुमति दिएर भए पनि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई मौखिक रूपमा अनुरोध गरेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बताएको छ । विभागका निर्देशक गुरुप्रसाद पौड्याल अनुसार निषेधाज्ञा थपिएपछि थप कडाइ हुने भएकाले विदेशबाट आएको विप्रेषण भुक्तानीका लागि रेमिट्यान्स कम्पनीलाई आवतजावतमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको हो ।
नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण उच्च रहेकाले अधिकतम सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन वैशाख १८ मा विप्रेषक कम्पनीहरूलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कम कर्मचारीबाट काम सम्पादन गर्न निर्देशन दिएको हो ।
नेपालमा हालसम्म ५१ ओटा विप्रेषण कम्पनीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् । यसैगरी १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २८ ओटा भुक्तानी सेवा प्रदायकले सञ्चालनको अनुमति पाएका छन् ।