विराटनगर । पूँजीगत खर्च नहुँदा विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा बुधवार विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए ।
लगानीकर्ताले सहयोग गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको बताए । ‘अत्यधिक बढ्दा पनि २० अर्बभन्दा माथि पुग्न सक्दैन,’ मुख्यमन्त्री राईले भने, ‘एक कार्यकालमा पनि १४ जिल्लामा सडक निर्माण गर्न नसकिने किसिमको खर्चको स्थिति छ ।’ अहिलेको खर्चको अवस्थाले ५ वर्षमा २०० किलोमिटर सडक पनि निर्माण हुन नसक्ने रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीव्रगतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै जोखिमपूर्ण बन्दै जाने बताए । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकार अन्तर्गत प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पुर्याएको मुख्यमन्त्री राईको दाबी छ । आगामी दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारेर आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिने मुख्यमन्त्री राईले बताए ।
कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुति दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटीका प्राध्यापक मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेको भए पनि त्यसको सदुपयोग हुन नसकेको बताए । निजीक्षेत्रले लगानी गर्न चाहेको भए पनि नीतिगत समस्याका कारण वातावरण नभएको धारणा उनले राखे ।
कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्त्याउन ‘फास्ट ट्र्याक’मा काम हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको गुनासो गरे । ‘औद्योगिक नीतिको अभाव छ, तजबिजीमा काम गर्ने परिपाटीले सरकार भए नभएको आभास भइरहेको छैन,’ घिमिरेले भने । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डिङमा ध्यान दिनुपर्ने बताए ।
उद्योगी पवनकुमार शारडाले उद्योगीलाई लगानी गर भनेर वातावरण खल्बल्याउने समस्या सरकारसँगै रहेको आरोप लगाए । स्थानीय सरकारले अनावश्यक कर लिने बहाना बनाएर हैरानी दिइरहेको गुनासो उनले गरे ।