अहिलेको समय हाम्रो देशको दुर्भाग्य नै भौगोलिक वातावरण, दैवीप्रकोप, रोगको महामारी आदि हुन् । यही कारणले चलचित्र क्षेत्र थला परेको छ । तीन दशकदेखि अहिलेसम्मको नेपाली चलचित्र हेर्दा सय पचास ओटा नेपाली चलचित्र हिन्दी चलचित्रभन्दा राम्रो र रमाइला छन् । कमजोर पटकथा, एक टेकमा लामो दृश्य, दुखियारी दृश्य, धेरै द्वन्द्व, धेरै गाउँको दृश्य तथा शिक्षाप्रद कुराहरू कम हुँदा युवा पुस्ताले नेपाली चलचित्र मन कम मन पराएको छ । लगानीकर्ताहरूको चलचित्र बनाउने शैली आफ्नो मर्जी हो । चलचित्रमा उसले रकम खर्चेको हुन्छ तर अरूको रायसुझाव लिएर चलचित्र बनाउँदा चलचित्र झन् राम्रो हुन सक्छ । यसमा लगानीकर्ताहरूले अन्यथा सम्झनु हुँदैन । लगानी डुब्नुभन्दा अरूको सुझाव सुनेर राम्रो चलचित्र बनाउनु बढी राम्रो हो ।
माथिका कुरा त छँदै छ । यसबाहेक चलचित्रको पटकथाको छनोट नै राम्रो हुनुपर्छ । यसका लागि चलचित्र लगानीकर्ताले सधैं आफूले पटकथा नलेखी विज्ञापनमार्फत पटकथाको छनोट गर्नुपर्छ । यसो गर्नाले चलचित्रमा नयाँ स्वाद हुन्छ । नेपाली चलचित्रको कुरा गर्दा चलचित्रलाई यदि सफल बनाउने हो भने चलचित्रका लागि राम्रा व्यक्तित्व भएका नायकनायिका हुनु जरुरी छ । चलचित्र बनाउनेहरूले यी पक्षहरूलाई बेवास्ता गरेको पाइन्छ । यसले गर्दा नेपाली सिनेमा क्षेत्र अझै व्यावसायिक बन्न सकेको छैन । रहरमा लगानी गर्ने र पैसा डुबेपछि यस क्षेत्रमा कहिल्यै लागनी नगर्ने लगानीकर्ता थुप्रै छन् । अहिलेको परिप्रेक्ष्यमा लगानीकर्ताहरूले कम बजेटमा चलचित्र बनाइरहेका छन् । कम बजेटको चलचित्रमा पटकथा आदि राम्रो हुनुपर्छ । सामाजिक टेलिसिरियलहरूको विकास हुनु पनि टेलिभिजन च्यानलहरूको उत्थान हुनुको साथै रोजगारको हिसाबले पनि राम्रो हुन आउँछ, तर यो क्षेत्रमा कोही अग्रसर भएको देखिँदैन । आफ्नोे लगानीअनुसार विज्ञापनबाट रकम नउठने हुँदा प्रायः चलचित्र लगानीकर्ताहरू यो क्षेत्रमा आउन चाहँदैनन् । विज्ञापनको बजार पनि निकै राम्रो छ । चलचित्र राम्रो बने विज्ञापनको बजार पनि बढ्छ । सिनेमाहरूले विज्ञापनबाट पनि कमाउने अवसर पाउन सक्छन् । त्यसैले सबै पक्ष मिलेर चलचित्र र विज्ञापन क्षेत्रको विकासमा अग्रसर हुन जरुरी छ ।
वास्तवमा भन्ने हो भने हाम्रो मुलुकमा सिनेमाका बजार सानो भए पनि यहाँ सयौं चलचित्र बनिसकेका छन् । यसमा काम गर्ने कलाकार र प्राविधिक तथा अन्य गरी थुप्रैले यस क्षेत्रबाट रोजगारी पाएका छन् । अहिले कोरोना भाइरसका कारण ती सबैको रोजगारी गुमेको छ । पहिलो त अहिले कुनै पनि हल खुलेका छैनन् । ती खुले पनि त्यहाँ दर्शकहरू जाने अवस्था छैन । कोरोनाको त्रास नहुँदा पनि सिनेमा हलमा जाने दर्शक घटिसकेका थिए । यस्तामा स्तरीय चलचित्र नबने लगानी खेर जाने निश्चित छ । कुमारी, जयजेपाल जस्ता हल अहिले बन्द भएका छन् । ती सदाका लागि बन्द हुने देखिन्छ । राम्रा चलचित्र बने अनलाइनबाट पनि राम्रो आम्दानी हुन सक्छ । भारतीय चलचित्रले राम्रै आम्दानी गरेको समाचार आएको छ ।
रमेशकेशरी बैद्य