काठमाडौं (अस) । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष प्रोटोन एक्स७० नेपाली बजारमा भित्र्याइसकेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित आफ्नै सोरुममा मिडियाकर्मी तथा नेपालस्थित मलेसियन दूतावासका अधिकारी मोहम्मद फदजल अबुहसनको उपस्थितिमा नयाँ गाडी सार्वजनिक गरेको हो ।
प्रोटोन एक्स५० पछिल्लो समय विभिन्न देशका ग्राहकको रोजाइमा पर्नुका साथै मलेसियाको सबैभन्दा बढी माग भएको गाडी बनेको कम्पनीले बताएको छ । १.५ लिटर टर्बोचाज्र्ड, थ्री सिलिन्डर इन्जिनसहित आउने उक्त गाडीको १.५टी स्ट्यान्डर्ड, १.५टी प्रिमियम र १.५ टीजीडीआई फ्ल्यागसिप संस्करण नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ ।
यसको स्ट्यान्डर्ड र प्रिमियम संस्करणले ५ हजार ५ सय आरएपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सयदेखि ४ हजार आरपीएममा २२६ एनएम टर्क उत्पादन गर्छ ।
यस्तै, फ्ल्यागसिप संस्करणले ५ हजार ५ सय आरपीएममा १७७ पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सयदेखि ४ हजार आरपीएममा २५५ एनएम टर्क उत्पादन गर्छ । नयाँ गाडीमा ७ स्पिड ड्युल क्लचसहितको ट्रान्समिसन म्यानुअल मोडको सुविधा रहेको छ ।
आकर्षक डिजाइनमा आउने प्रोटोन एक्स५० मा ड्युल टोन इन्टेरियर तथा एक्सटेरियरका साथै फूल एलइडी हेडल्याम्प, अलो ह्वील, फ्लोटिङ फ्लोर कन्सोल, पानारोमिक सनरुफ, एलसीडी मिटर कम्बिनेसनलगायत सुविधा छन् ।
नयाँ गाडीमा यात्रु सुरक्षाका लागि एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ, जसभित्र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड वार्निङ कोलियसन, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टमलगायत सुविधा छन् । नयाँ गाडी सार्वजनिक गर्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाइ र एक्स५० को विदेशको बिक्री उत्साहप्रद देखिएकाले नेपाली बजारमा भित्र्याइएको बताए ।
यस्तै, सीईओ दीपक अग्रवालले यस सेग्मेन्टमा अरू ब्रान्डभन्दा बढी सुविधा रहेकाले नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । जगदम्बा मोटर्सले ग्राहकलाई गाडी बिक्रीका साथै बिक्रीपछिको सेवा पनि दिँदै आएको उनले बताए ।