वैशाख १०, काठमाडौं । वैशाख १६ गतेदेखि दुई ओटा लघुवित्त कम्पनी सहित तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आउने भएको छ ।
एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको कुल १ लाख १९ हजार ८३९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।
कुल कित्तामध्ये आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेको छ ।
यी शेयर खरीदका लागि इच्छुक योग्य लगानीकर्ताहरुले जेठ ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उल्लेखित शेयरमा बोलकबोल गर्नका लागि आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता रू. ३२१ तोकिएको छ ।
तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेको बोलकबोल मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाइ छ । यो शेयरमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । उक्त शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।