काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसद सचिवालयले दर्ता गर्न मानेको छैन । आइतबार नेकपाका शीर्ष नेताहरुले संसद सचिवालयमा पुगी प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेतामा चयन गरिएको जानकारी गराएका थिए ।
संसदका डा. भरत पौड्यालले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको संसद सचिवालय स्रोतले जनाएको छ । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।
त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।
संसदको हिउँदे अधिवेशनको बैठक आइतबार ४ बजेका लागि बोलाइएको छ । नेकपा औपचारिक विभाजन नभइसकेकाले सो दलभित्रका विवादले बैठक सञ्चालनमा असर गर्ने देखिएको छ ।