काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको आयोजनामा हुन लागेको ‘नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी’मा १५० भन्दा बढी स्टल रहने भएका छन् । माघ २७ देखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा उक्त संख्यामा कृषिसम्बन्धी स्वदेशी तथा विदेशी स्टल रहने भएका हुन् । प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिलगायत सम्बन्धी जानकारी गराइने आयोजकले जानकारी दिएको छ ।
साथै प्रदर्शनीमा देशभरबाट कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थीलगायतको सहभागिता रहने आयोजकको भनाइ छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने, ससाना औजार, डेरी मेशिनरी लगायतका उपकरण डेमो गरिने पनि आयोजकले बताएको छ । नेपालको कृषिक्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ ।