चैत १५, काठमाडौं । बुधवारदेखि प्राथमिक बजारमा दुई कम्पनीको धितोपत्र सार्वजनिक निष्कासनमा आउनेछ ।
बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ र प्राइम कमर्सिल बैंकले ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याउन लागेका हुन् ।
यी दुई धितोपत्र फरक फरक प्रकृतिका हुन् । दुवै धितोपत्र दोस्रो बजारमा सूचीकृत भई कारोबार हुने भएपनि बलेफी हाइड्रोपावर कम्पनीको शेयर हो भने प्राइम कमर्सियल बैंकको १० वर्षे अवधि तोकिएको ऋणपत्र हो ।
बलेफी हाइड्रोपावरको आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीले वितरण गर्ने भएमा वार्षिक रुपमा लाभांश प्राप्त गर्नेछन् भने प्राइम कमर्सियल बैंकको ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरुले अर्धवार्षिक रुपमा निर्धारित ब्याजदर प्राप्त गर्नेछन् ।
सार्वजनिक निष्कासनका क्रममा ऋणपत्र, आईपीओ र म्युचुअल फण्डका इकाईहरुलाई आईपीओकै संकेत दिने गरिएकाले कतिपय सर्वसाधारणले ऋणपत्र र म्युचुअल फण्डलाई पनि आईपीओ सम्झेर आवेदन दिने गरेको बताएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले लगानीकर्तामा अन्योलता देखिई समस्या भएको अवस्थामा आईपीओको संकेतमा पुनर्विचार गर्ने बताएका छन् । म्युचुअल फण्डका इकाई र ऋणपत्र पनि प्रारम्भिक सार्वजनिक निष्कासनमै आउने भएकाले आईपीओकै संकेत दिएको भनाई आचार्यको छ ।
यद्यपी अन्योलता भएको खण्डमा लगानीकर्ताको हितलाई ध्यानमा राखी संकेतलाई समयसापेक्ष बनाउने प्रतिवद्धता उनले दिएका छन् ।
बलेफी हाइडोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँट गरेको थियो । दोस्रो चरणमा पनि सोही अनुपातमा सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आउन लागेको हो ।
यो आईपीओ खरीदका लागि छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २१ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने देखिन्छ । यो आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी ८० प्रतिशत पूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानियलाई १० प्रतिशत र सर्वसाधारणमा १० प्रतिशत आईपीओ विक्री पछि यो पूँजी रू. १ अर्ब ८२ करोड ७९ लाख ७० हजार कायम हुनेछ ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ६४ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ९ करोड ३० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
त्यस्तै बुधवारदेखिनै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।
कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनु पर्नेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ३० गतेसम्म विक्री खुला गरिने बैंकको भनाइ छ ।
यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरिदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । योे रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ ।