बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको ‘कट अफ’ मूल्य तोकिएको छ । सर्वोत्तम सिमेन्टको सेयरको कटअफ प्राईस प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेन्जमा कम्पनीले मागेको आशय मूल्यको बिड खोलिएको हो । सर्वोत्तमको सेयरका लागि ६५ ओटा संस्थागत लगानीकर्ताले बिड गरेका थिए । कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर छुट्याएको छ ।अब आज तोकिएको आशय मूल्यको आधारमा सेयर बिक्री मूल्यसहित कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिनेछ ।बुक विल्डिङ विधीअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको सेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ ।सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। यसअघिःसर्वोत्तम सिमेन्ट आईपिओ: २४ लाख कित्ता शेयरको लागि आजबाट आशयपत्र पेश गर्ने समय