जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ।...
असोज १४,सिन्धुपाल्चोक । स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीको बजारिकरण गर्ने उद्देश्यले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– ९ राम्चेमा नमूना फेमेली मार्केट सञ्चालन गरिएको छ ।
तपाई हाम्रो नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले ५० लाख रुपैयाँ लगानी गरेर सो मार्केट सञ्चालन गरेको हो । स्थानीय स्तरमा उत्पादित साग, सिस्नो, निगुरो, स्कूस, तामा, च्याउ, करेला, मकै, कोदो, चामाल, केराउ, मुगीदाल, मुसुरो, रहर, तेल, चना, आँटा लगायत सिजन अनुसारका तरकारी, फलफूल सो मार्केटमा राखिएका छन् ।
स्थानीय कृषकहरुले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूलदेखि सुपरमार्केटमा पाइने खाद्यन्न, दैनिक उपभोग्य बस्तु नमूना फेमेली मार्केटमा पाइन्छ । स्थानीय स्तरका कृषि उत्पादनलाई खरीदविक्री र प्रबर्द्धन गर्ने उद्देश्यले मार्केट सञ्चालन गरिएको कृषि सहकारी संस्थाका अध्यक्ष शेरबहादुर रायमाझीले बताए ।
‘हामीले कृषि उपज बढाउने, महंगी नियन्त्रण गर्ने, स्थानीय सरकारसँग सहकारीको समन्वयमा कृषि उपज उत्पादन तालिम प्रदान गर्ने, मल, बीउबीजन, आधुनिक कृषि औजार उपलब्धता गराउने, कृषि र पशुपालनमा सम्बन्धित निकायलाई प्राविधिक सेवा उपलब्धता गराउनेजस्ता विभिन्न उदेश्य लिएर मार्केट सञ्चालन गरेका हौं’, अध्यक्ष रायमाझीले भने ।
‘अहिले दुई जना कर्मचारीहरुमात्रै राखेका छौं, कारोबार बढ्दै जान थालेपछि क्रमशः थप्दै जानेछौं’, सहकारीका संस्थापक अध्यक्ष तथा मार्केट व्यवस्थापन समितिका संयोजक श्यामबहादुर भुजेलले भने, ‘अहिले मार्केटमा सामान किन्ने र बेच्नेको भीड बढिरहेको छ, तत्कालका लागि ३/ ४ जना सहकारीका सदस्यहरुले सघाउँदै आउनुभएको छ ।’ बुधवारदेखि सञ्चालनमा आएको मार्केटमा पहिलो दिननै ३० हजारभन्दा बढी कारोबार भएको भुजेलले बताए ।
मार्केटको उद्घाटन बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले गरेका थिए । उनले मार्केटको उद्घाटन गर्दै प्रक्रियागत रुपमा कृषि क्षेत्र अन्तर्गतको सवारी साधान र अन्य सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘स्थानीय स्तरमा उत्पादन भएको सबै प्रकारका कृषि उत्पादन खरीद गर्ने र कृषि सामग्री उत्पादन गर्न आवश्यक सामग्री विक्री गर्ने हाम्रो मूल उद्देश्य हो’,उनले भने, ‘मार्केटमा कृषकलाई चाहिने मल, औषधी, बीउबिजन, औजारदेखि घरयासी प्रयोजनका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखेका छौं ।’
उपभोक्तालाई चाहिने सबै खाले सामग्रीहरु पाइने र आफ्ना उत्पादन विक्रीसमेत गर्न सकिने भएपछि बाह्रबिसे र आसपासका स्थानीयहरुको भीड मार्केटमा लाग्ने गरेको छ । गुणस्तरयुक्त र ताजा दैनिक उपभोग्य बस्तु राखिएपछि अहिले ग्राहकहरुको चाप बढ्न थालेको भुजेलले जानकारी दिए । १७६ जनाबाट शुरु भएको सहकारीमा अहिले १ हजार ७२३ जना सदस्य आबद्ध छन् ।
१ करोड ७६ लाख शेयरपूँजीबाट शुरु भएको सहकारीमा अहिले २ करोड ७२ लाख १८ हजार २०० शेयरपूँजी पुगेको व्यवस्थापक बिनिता भुजेल श्रेष्ठले बताइन् । सहकारीले कृषि क्षेत्र अन्र्तगत पशु, बाली, विभिन्न लघु तथा उद्यम र साना, मझौला व्यापार ब्यवसायमा कर्जा प्रवाह गर्दै सदस्यका जीवनमा परिर्वतन गर्दै आएको व्यवस्थापक श्रेष्ठको भनाइ छ ।