कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन् ।
निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका ९२ परिवार शिविरमा झोपडी बनाई बस्दै आएका छन् । साविकको पिपलाडी गाउँपालिका–१ र २ बाट अधिकांश परिवार विस्थापनमा परेका हुन् ।
स्थानीय तहको पुनः संरचनापछि पिपलाडी गाविस शुक्लाफाँटा नगरपालिकामा समाहित गरिएपछि निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाले स्थानीय तहबाट पाउने सेवासुविधा पाउन छाडेका छन् ।
स्थानीय तहमा बसाइँसराइ, जन्मदर्ता, विवाह दर्तालगायतका प्रक्रियाबाट समेत वञ्चित गरिँदै आएका निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाको भनाइ रहेको छ । नयाँ नागरिकता बनाउनसमेत नपाइएको शिविरका बासिन्दाको गुनासो छ ।
‘आफनै देशमा शरणार्थीको जस्तो जीवन बिताउँदै आएका छौँ,’ नरबहादुर विष्टले भने, ‘बिरामी परेँ अधिकांश परिवारसँग उपचार गर्ने पैसा हुँदैन । रोग पालेर झोपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था छ ।’ परिवारको खर्च धान्नका लागि युवा भारततर्फ लाग्ने भएकाले शिविरमा बूढापाका र महिला मात्रै रहने गरेका छन् । शिविरमा कोही बिरामी परे स्वास्थ्यचौकी पुर्याउनसमेत सकिने अवस्था नरहेको उनले बताए ।
‘शिविर नजिकैको बस्तीमा गतवर्ष नगरपालिकाले झुल बाँड्यो,’ नरिभान ढुङ्गालले भने, ‘शिविरका बासिन्दाले समेत झुलको माग गर्यौं । अवैध बस्तीका बासिन्दाको आरोप लगाउँदै झुल नै दिइएन । गर्मीको मौसम शुरू हुनै लाग्दा लामखुट्टेका कारण झोपडीमा सुत्नै सकिदैन ।’
निकुञ्जकै केही जग्गामा बसोबास गर्दै आएका बासिन्दाले खेतीसमेत गर्दै आएका छन् । बेमौसमी वर्षाका कारण निकुञ्जमा बासोबास गर्दै आएका बासिन्दाले धानखेतीमा क्षति ब्यहोरेका छन् ।
‘शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका क्षति पुगेका किसानको क्षतिपूर्तिका लागि लगत लिने कार्य गरेपनि शिविरका बासिन्दाको छुट्टै लगत लिएर फायल थन्क्याउने कार्य गरेको छ,’ लक्ष्मण साउदले भने । रासस