काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्वरा विभिन्न माग राखि भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ, 'कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्फ सरकार सम्वेदनशील हुनु जरुरी छ ।'
बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिंदा सरकारको पूँजीगत खर्च पनि हुन नसकेको तथा जनताले पनि सुविधा पाउन नसकेको बताएको छ । गत बर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएको भन्दै यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश नगएको भनेको छ ।
'विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ,' विज्ञप्तीमा थप भनिएको छ ।
निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको छ । राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेको महासंघको भनाई छ ।