चितवन । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सबस्टेशनमा रहेका दुईओटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतवार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सबस्टेशनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्काेमा १६ कात्तिकमा समस्या आएको थियो ।
प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेशनमा जगेडामा रहेको २२ दशमलव ५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीवारदेखि घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति शुरू गरिएको थियो ।
कास्कीको लेखनाथ सबस्टेशनमा रहेको २२ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर भरतपुर सबस्टेशनमा जडान गरी त्यसलाई पनि आइतवार साँझदेखि सञ्चालनमा ल्याइएको हो । सबस्टेशनको क्षमता अब ४५ एमभीए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए । सिंहका अनुसार आँपटारीस्थित अर्काे १३२÷११ केभीको सबस्टेशनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान शुरू गरिएको छ ।
उक्त सबस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीनओटा फिडर निकालिसकिएको छ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो । रासस