‘कालापानी क्षेत्र नेपालको हो’ भन्दै सुदूरपश्चिम प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेशसभाको छैठाैँ अधिवेशनको तेह्रौँ बैठकले सुदूरपश्चिमकै दार्चुला जिल्लामा पर्ने कालापानी, "लिपुलेक र लिम्पियाधुरा नेपालकै हो" भन्दै सर्वसम्मत सङ्कल्प प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्यहरू कर्णबहादुर मल्ल र दार्चुलाबाटै निर्वाचित ग्याल्बुसिंह बोहराले सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको थियो । प्रस्तावको प्रदेश सभामा रहेका तीन वटै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले सो प्रस्तावकाे समर्थन गर्नुभएको थियो । प्रदेश सरकारका तर्फबाट धारणा राख्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबारे लिनुभएकाे अडान ऐतिहासिक भएको बताउँदै सो क्षेत्रबाट विदेशी सेना हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले त्यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने कार्यक्रमसहितको बजेट ल्याउने धारणा राख्नुभयो ।