भदौमा मेगा म्युचुअल फण्ड–१ को प्रति इकाई खुद मूल्य घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ को खुद सम्पत्ति इकाई मूल्य भदौमा घटेको छ । साउन मसान्तसम्म ८ रूपैयाँ ८३ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य भदौ मसान्तसम्म भने ८ रूपैयाँ ६३ पैसा रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब १८ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको बजारमूल्य भने ९० करोड ७७ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । योजना भदौ मसान्तसम्म ३ करोड ४४ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानी बढेको हो । साउन मसान्तसम्म योजना ९७ लाख ५९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस