असारभित्रै कारोबार थाल्ने नयाँ ब्रोकरको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकर कम्पनीले असारभित्रै कारोबार शुरू गर्ने तयारी गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ती कम्पनीको भौतिक पूर्वाधार निरीक्षण सकाएको छ ।  ती कम्पनी नेप्सेकै कारोबार प्रणालीमा जोडिने हुन् । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले आशयपत्र पाएका ७ ब्रोकर कम्पनीको भौतिक पूर्वाधार निरीक्षणको प्रतिवेदन सञ्चालक समितिबाट पारित हुन बाँकी रहेको जानकारी दिए । पराजुलीका अनुसार नयाँ कम्पनीहरू भौतिक पूर्वाधारमा योग्य हुन तिनले तयार गरेको प्रणालीलाई नेप्सेको कारोबार प्रणालीले सपोर्ट गर्नुपर्छ ।  बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीले पनि नेप्सेकै प्रणालीमा जोडिन आवेदन दिएका छन् । सूचना अधिकारी पराजुलीले ती ११ कम्पनीले पेश गरेका कागजपत्र निरीक्षण भइरहेको जानकारी दिए । बोर्डले पहिलो चरणमा सीमित कार्य गर्ने ७ कम्पनीलाई जेठ ८ गते ब्रोकर लाइसेन्स दिएको थियो । ब्रोकर लाइसेन्स पाएकै हप्ता ती कम्पनी नेप्सेको सदस्यता लिन पुगेका थिए । आशयपत्र पाइसकेका र भौतिक पूर्वाधार तयार गरिसकेका कम्पनीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने तयारी गरेका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने योजना सफल बनाउन नेप्सेले जतिसक्दो चाँडो निर्णय लिनुपर्नेमा जोड दिए । आफूहरु प्राविधिक रूपमा समेत तयार भएर बसेको उनको भनाइ छ ।  नेप्सेको सदस्य भएपछि राफसाफ सदस्यका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) जानुपर्ने गिरी बताउँछन् । नेप्सेले चाँडो निर्णय गरे सीडीएससीको सदस्यता प्रक्रिया समयमै सम्पन्न हुने गिरीले बताए ।  गिरीका अनुसार ७ ब्रोकर कम्पनी असारको चौथो सातादेखि कारोबार शुरू गर्ने तयारीमा छन् । ती कम्पनी सन सेक्युरिटिज प्रालि, गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेड हुन् । दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीले सदस्यताका लागि पेश गरेको विवरण नेप्सेले निरीक्षण गरिरहेको छ । यी कम्पनीको विवरण निरीक्षणपछि नेप्सेले प्राविधिक तयारी पूरा गर्न निर्देशन दिँदै आशयपत्र प्रदान गर्छ ।  नेप्सेबाट हालसम्म आशयपत्र प्राप्त नगरेका ११ कम्पनीले असार मसान्तभित्रै कारोबार शुरू गर्न सम्भव छैन । ११ कम्पनीमा एउटा धितोपत्र व्यापारी (स्टक डिलर), एउटा पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ९ सीमित कार्य गर्ने धितोपत्र दलाल छन् ।  पूँजीका हिसाबमा बलिया र फरक फरक सेवा प्रदान गर्ने गरी भित्रिन लागेका नयाँ ब्रोकर कम्पनीले सेवा शुरू गरेपछि बजारमा नयाँ आयाम थपिने विश्वास शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलको छ । ‘जुन संघर्षका साथ नयाँ ब्रोकर कम्पनी बजारमा भित्रिने वातावरण बनेको छ त्यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,’ फुल्लेलले भने । ब्रोकर धेरै हुँदा लगानीकर्ताले प्रभावकारी सेवा छनोटको अवसर पाउने भएकाले बजारमा छुट्टै माहोल बन्ने फुल्लेल बताउँछन् । धितोपत्र बोर्डले १ अर्ब ५० करोड चुक्ता पूँजी भएको नबिल सेक्युरिटिज लिमिटेडलाई स्टक डिलरको र ६० करोड चुक्तापूँजी भएको मेगा स्टक मार्केट लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ । त्यस्तै २० करोड चुक्तापूँजी तोकिएको सीमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दोस्रो चरणमा एलिट स्टक हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनी वल्र्ड शेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड र कलश स्टक मार्केट प्रालिले पाएका हुन् । मार्जिन कारोबारका लागि पूँजी कायम गरी आएका नयाँ ब्रोकर कम्पनीबाट उक्त सेवा पाउनेमा समेत लगानीकर्ता विश्वस्त देखिन्छन् । पुराना ब्रोकरमध्ये करीब दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधाका लागि लाइसेन्स पाए पनि एउटाले मात्र उक्त सुविधा दिइरहेको छ । हाल पुराना ब्रोकर कम्पनीका रूपमा ५० कम्पनी सञ्चालनमा छन् ।  धितोपत्र बजारमा अब ४३ ओटा नयाँ ब्रोकर कम्पनी थपिन्छन् । बोर्डले गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सको आवेदन माग गरेको थियो । उक्त अवधिमा ४६ कम्पनीले आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले आशयपत्र दिएको थियो ।