काठमाडौं । बैंक, वित्तीय संस्थाहरूमा निक्षेप वृद्धिसँगै तरलताको अवस्थामा सुधार आएपछि साढे २ खर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलवार वित्तीय प्रणालीमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चैत २० गते सोमवार बैंक, वित्तीय संस्थाहरूसँग कुल ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत २१ गते मंगलवार बढेर ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ८४ अर्बबाट बढेर ४७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप पनि ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
गत साताको अन्तिम दिन शुक्रवार पनि बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । चैत १६ गते बिहीवार बैंकहरूसँग कुल ५४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १७ गते शुक्रवार बढेर ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको थियो ।
मंगलवार बैंक, वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव ४३ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकको प्रावधानअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्छ । यसले बैंकहरूसँग २ खर्ब ४८ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नसक्ने क्षमता रहेको देखाउँछ ।
तर, ब्याजदर उच्च हुँदा पछिल्लो समय नयाँ कर्जा प्रवाह हुन सकेको छैन । बैंकहरूले पनि बजारको अवस्था सहज नभएको भन्दै कर्जा प्रवाहमा कडाइ गर्दै आएका छन् । बैंकरहरूले पनि कर्जाको माग नभएको बताउँदै आएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको कर्जा घटिरहेको छ । गत सोमवारसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंगलवार भने घटेर ४८ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकहरूको कर्जा ३ अर्बले घट्दा विकास बैंक र फाइनान्सको स्थिर देखिएको छ । सोमवारसम्म वाणिज्य बैंकहरूले कुल ४२ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा मंगलवारसम्म ४२ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको हो ।
तरलताको अवस्था सहज भएपछि बैंकहरूबीच कारोबार हुने अन्तरबैंक ब्याजदर पनि घटेको छ । सोमवार ७ दशमलव शून्य २ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर मंगलवार ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
तरलताको अवस्था सहज भएसँगै बैंकहरूलाई ब्याजदर घटाउन चर्को दबाब छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बैंकर र राष्ट्र बैंकका अधिकारीसँग छुट्टाछुट्टै छलफल गरी ब्याजदर घटाउने उपायबारे चासो राखेका थिए ।
चैतमा निक्षेपको ब्याजदर सामान्य रूपमा कम गरेका बैंकहरूले कर्जाको प्रिमियमदर समेत घटाएका थिए । राष्ट्र बैंकको निर्देशनअनुसार चैतपछि निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेडदर) घटाउनुपर्ने र आधारदरसमेत घट्ने भएकाले कर्जाको ब्याजदर पनि स्वतः कम हुने बैंकरहरूले बताउँदै आएका छन् ।