श्रीराम सुगर मिल्स सर्वपक्षीय बैठक निष्कर्षविहीन: उद्योगी र कृषक आ–आफ्नै अडानमा

दिपेश पौडेल रौतहट। रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स र कृषकका प्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठक विनानिष्कर्ष टुंगिएको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको पहलमा मिल सञ्चालन, लिलाम, कर्मचारीको बक्यौता भुक्तानी लगायत विषयमा सर्वपक्षीय बैठक बसेको हो । चिनी मिल सञ्चालन गर्न नसकिने उद्योगीले बताएका छन् भने उद्योग स्थापनाका लागि कम मूल्यमा दिएको जमीन फिर्ता हुनुपर्ने अडान कृषकले लिएका छन् ।  उखु उत्पादक संघ, रौतहटका अध्यक्ष अशोक यादवका अनुसार बन्द रहेको उक्त मिलमाथि बक्यौता रहेको बैंकको कर्जा ब्याजसहित फिर्ता हुनुपर्ने, कर्मचारीले केही महीनाको तलब तत्काल पाउनुपर्ने र उद्योग सञ्चालन नहुने अवस्थामा किसानको जग्गा फिर्ता हुनुपर्ने लगायत माग राखिएको छ । बैठकमा मिल्सका तर्फबाट हितेश गोल्छा, विकास अग्रवाल, राजकुमार अग्रवाल र बैंकका प्रतिनिधिको सहभागिता थियो भने कृषकका प्रतिनिधि तथा मिल्स बचाउ संघर्ष समितिका पदाधिकारी रेवन्त झा, राजकुमार दास, रामजी साह, वृजकिशोर यादव, शेख मसहर, अनिलकुमार यादव, सुनिलकुमार यादव, कृष्णदत्त सहनी लगायतको उपस्थिति थियो । उखु उत्पादक संघ, रौतहटका अध्यक्ष अशोक यादवका अनुसार बन्द रहेको उक्त मिलमाथि बक्यौता रहेको बैंकको कर्जा ब्याजसहित फिर्ता हुनुपर्ने, कर्मचारीले केही महीनाको तलब तत्काल पाउनुपर्ने र उद्योग सञ्चालन नहुने अवस्थामा किसानको जग्गा फिर्ता हुनुपर्ने लगायत माग राखिएको छ । शिवशक्ति समूहका राजकुमार अग्रवालले बैंकिङ प्रक्रियामार्फत सकार गरेको सामग्री लैजान पाउनुपर्ने मागसहित सर्वपक्षीय बैठक राखेका थिए । दुवै पक्षले आ–आफ्नै अडानमा बसेपछि सोमवारको वार्ता असफल भएको हो । केही दिनपछि पुन: अर्को बैठक बोलाइने रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनका अनुसार बैठकमा गोल्छा र अग्रवालले चिनी मिल चलाउन नसकिने बताएपछि कृषक प्रतिनिधि पनि आफ्नो अडानमा अडिग रहे । नेपाल बैंकका अनुसार उद्योगले राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) समेतबाट विभिन्न शीर्षकमा कर्जा लिएको थियो । तर, कर्जा सम्झौताअनुसार साँवाब्याज तथा हर्जना समेत उक्त मिलले बुझाएको छैन । मिलमा १७ करोड रुपैयाँ ऋण लगानी गरिएकोमा ब्याज समेत जोड्दा अहिले २६ करोड रुपैयाँ पुगेपछि नेपाल बैंकले गत जेठ ३२ गते लिलामी प्रक्रिया अघि बढाएको थियो । बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर लिलाम बढाबढमा बोलपत्र पेश गर्न आह्वान गरेको थियो । बैंकले लिलामीमा निकालेको श्रीराम सुगर मिल्सका मेसिनरी उपकरण शिवशक्ति ग्रुपले सकार गरेको छ । गोल्छा र विशाल ग्रुपको लगानी रहेको श्रीराम सुगर मिल्सका उपकरण शिवशक्ति ग्रुपले रू. ४३ करोड ६० लाखमा सकारेको हो । शिवशक्ति ग्रुपले उद्योगका उपकरण लैजान खोजेकोमा कृषकको अवरोध हुँदै आएको छ । कृषकले मिल सञ्चालन हुनुपर्ने अडान राखेका छन् ।