काँग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाही गर्न माग

नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत उक्त घटनाको भर्त्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गर्नुभएको छ । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागका सदस्य राधिका सिंहलाई खटाएको छ ।