तामाकोशी जलविद्युत् आयोजनाको कवाडीमा विभिन्न समूहको आँखा लाग्दा सिनो हाइड्रो मर्कामा

भदौ ८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कवाडी सामानमा विभिन्न समूहको आँखा लाग्दा आयोजनाको सिभिल संरचना निर्माणको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई मर्का परेको छ । विभिन्न समूहको अवरोध तथा जिल्ला प्रशासन कार्यालयले बचेखुचेका सामान तथा उपकरणहरु समेत आयोजना स्थलबाट अन्यत्र लैजान सहयोग नगरेका कारण  सिनो हाइड्रो मर्कामा परेको हो । आयोजनाको काम गर्दा बढी भएका समान तथा यन्त्र उपकरण अन्य आयोजनामा लैजान खोज्दा स्थानीय विभिन्न समूहले अवरोध गरेको तथा प्रशासनबाट समेत सुरक्षा नदिइएको कारण आफूहरु मर्कामा परेको सिनो हाइड्रो सम्बद्ध एक अधिकारीले आर्थिक अभियानसँगको कुराकानीका क्रममा बताए । सिनो हाइड्रोले वाग्मती सिंचाइ आयोजनादेखि नेपालका विभिन्न आयोजनाहरुमा काम गरिसकेको तर अन्यत्र कहीं यस्तो खालको समस्या नभोगेको उनले बताए ।नेपालमा काम गरेको करीब ३१ वर्ष भइसकेको  तर यसरी बचेका सामान तथा उपकरण अन्यत्रका आयोजनाहरुमा लैजान खोज्दा अवरोध भएको तथा प्रशासनले समेत असहयोग गरेको पहिलो घट्ना भएको उनको दुःखेसो छ । करीब ६०/ ७० ट्रक जति सामान आयोजना स्थलबाट लैजान बाँकी रहेकोमा लामावगर प्रहरी चौकी र गोंगर प्रहरी चौकिले माथिको आदेश भन्दै सामान लैजान अवरोध गरेको उनले बताए ।  शुक्रवार प्रधानमन्त्री कार्यालयका सचीव महेश्वर न्यौपाने आयोजना स्थलमा व्यक्तिगत भ्रमणका क्रममा आएपछि भने सोमवार एउटा ट्रकबाट सामान पठाइएकोमा प्रहरीले अवरोध नगरेको उनले बताए । ठेकेदारका सामान तथा उपकरणलाई पनि कवाडी नैं देखी अवरोध गर्नाले अन्तरराष्ट्रिय स्तरमा पनि राम्रो सन्देश नजाने ती अधिकारीको भनाइ छ ।आगामी दिनमा पनि अवरोध भएमा कानूनी प्रक्रिया अनुरुप क्षतिपूर्ति दावी  गर्दै नेपालको कानून बमोजिम मुद्दा दायर गर्न सिनो हाइड्रो बाध्य हुने उनको भनाइ छ । गत वर्ष तामाकोशी सफाईको नामामा कवाडी हत्याउने उद्देश्यका साथ जानकी हार्डवेरले विभिन्न सरकारी निकायहरुबाट तामाकोशी सफाइ गर्न अनुमती लिए पनि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना सम्पन्न भएपछि कानून बमोजिम लिलामी गर्ने बताएपछि तथा स्थानीयले समेत विरोध गरेपछि कवाडी हत्याउने समूहको योजना विफल भएको थियो ।   माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तथा सिनो हाइड्रोका प्रतिनिधि बसी कन्सल्ट्यान्टको रोहवरमा ठेकेदार कम्पनीका उब्रिएका सामान तथा उपकरण एक्किन गरी लैजान अनुमति दिइने गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका डेपुटी म्यानेजर विमल गुरुङले जानकारी दिए ।  आयोजना निर्माण समाप्त गरेपछि उब्रिएका सामान तथा यन्त्र उपकरण ठेकेदार कम्पनीको व्यक्तिगत सम्पत्ती भएकोले कानून बमोजिम लैजान पाउने उनले बताए । कसैको सम्पत्ति लैजान पाउने कानुनी अधिकारको सम्मान गर्दैै कुनै पनि व्यक्ति, समूह वा प्रशासनले अवरोध गर्नु नहुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनाको महत्वपुर्ण सिभिल संरचनाको काम सम्पन गरेको ठेकेदार कम्पनीको सामान लैजान सुरक्षा दिनु प्रशासनको कर्तब्य भएको गुरुङले बताए ।तर जिल्ला प्रशासन तथा प्रहरीले भने आफूहरुले ठेकेदार कम्पनीका समान लैजान कुनै अवरोध नगरेको बताउँदै आएको छ ।