९ महीनामा भित्रियो ९ खर्बभन्दा बढी विप्रेषण, चैतको भने यो आवको अहिलेसम्मकै सर्वाधिक

काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनासम्म नेपालले ९ खर्बभन्दा बढी विप्रेषण भित्र्याएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको साउनदेखि चैतसम्म नेपालले ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ विप्रेषण भित्र्याएको हो ।  गत फागुनसम्म नेपालमा ७ खर्ब ९४ अर्ब ३२ करोड विप्रेषण भित्रिएको थियो । चैतमा मात्रै नेपालले १ खर्ब ९ अर्ब ७ करोड विप्रेषण भित्र्याएको छ । चालू आवको अहिलेसम्म एक महीनामा भित्रिएको विप्रेषणमध्ये यो रकम सर्वाधिक हो ।  गत वर्षको साउनदेखि चैतसम्मको तुलनामा चालू आवको सोही अवधिमा रेमिटान्स आप्रवाह २४.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको राष्ट्र बैंकको मासिक वित्तीय विवरणले देखाएको छ  । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेर ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ ।