काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरेसँगै फागुन १५ गते सोमवारसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । सभा बेस्ट रिसोर्ट नेपाल प्रालि लेकसाइट, पोखरामा बिहान ९ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आयोजना गरेको छ । सभा गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।