आर्थिक अभावबाट ग्रस्त विकासोन्मुख देशमा टेलिभिजन सेतो हात्ती साबित हुने दाबीलाई गलत साबित गर्दै नेपालको पहिलो टेलिभिजनले आज छत्तीसौँ वार्षिकोत्सव मनाउँदैछ । नेपालमा टेलिभिजनको सामाजिक इतिहास नेपाल टेलिभिजनको स्थापनाभन्दा केही पुरानो अवश्य छ । तर नेपाली समाजमा टेलिभिजन संस्कृतिको दू्रत विकास भने पञ्चायती शासन व्यवस्थाको अन्तिम समयतिरदेखि नै भएको हो । राजा वीरेन्द्रले व्यक्तिगतरूपमा अभिरुचि दर्शाउँदै नेपालमा टेलिभिजन प्रसारण सुरु गराउँदा उनको खास मनसाय जेसुकै होस्, बितेका साढे तीन दशकमा यसले नेपाली चेतनास्तरलाई उकास्न उल्लेखनीय योगदान गरेको छ ।
एकसय ७० वर्ष पहिले प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले युरोप भ्रमणबाट फर्किंदा आफूसँग ल्याएको छापा यन्त्रले नेपालको छापा इतिहासको ढोका खोलेको थियो । उनकै सन्तती चन्द्रशम्सेरले त्रिचन्द्र कलेजको स्थापना गर्दा आफ्नै खुट्टामा बञ्चरो हानेको ठानेका थिए भने जङ्गबहादुरले पनि पक्कै जनचेतना फैलाउन त्यो प्रेस नेपाल ल्याएका थिएनन् । त्यसपछिको समयमा पनि पहिले राणाहरूले र पछि पञ्चायतकालमा राजाहरूले जसरी छापा उद्योगलाई निर्वाध फस्टाउन दिएनन्, त्यस दृष्टान्तबाट पनि जङ्गबहादुरले किन छापा यन्त्र नेपालमा भित्र्याए भन्ने अनुमान लगाउन सकिन्छ । सञ्चारका साधनहरू मानसिक उत्पादनका साधन वा मानिसको मनोविज्ञानमा प्रभाव पार्ने माध्यम हुन् । उत्पादनका साधनमाथि जसको स्वामित्व रहन्छ, राज्यको वास्तविक शक्ति उसैसँग हुन्छ । त्यसैगरी राज्यको शक्ति बल प्रयोग गर्ने संस्थाहरूमा मात्र आधारित हुँदैन । सांस्कृतिकरूपमा कायम गरिने शक्ति पनि उत्तिकै महìवपूर्ण हुन्छ । सांस्कृतिक माध्यमबाट कायम गरिएको झूठो चेतना च्यात्न सक्नेहरू नै मुक्ति र स्वतन्त्रताको कुरा गर्छन् । यस मामिलामा जङ्गबहादुर र उनका सन्ततीको केही न केही बुझाइ थियो । त्यसैले जङ्गबहादुरले आफ्नो हातमा सांस्कृतिक वा मानिसको मन मस्तिष्कमा प्रभाव पार्ने साधनलाई आफू अनुकूल प्रयोग गर्न छापा यन्त्र आफैँसँग ल्याई आफ्नै नियन्त्रणमा राखेका थिए ।