यो साता करीब साढे २ प्रतिशत माथि उक्लियो धितोपत्र दोस्रो बजार, कुल पूँजीकरण ३२ खर्ब नजिक

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेको छ । गत साता र यो साताको धितोपत्र दोस्रो बजार मापक महत्त्वपूर्ण सूचकहरू तुलना गर्दा बजार सकारात्मक गतिमा अघि बढेको देखिएको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ३० दशमलव ५५ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८० दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको हो ।  गत साताको तुलनामा यो साता नेप्से परिसूचक २ दशमलव ४८ प्रतिशत अर्थात् ५० दशमलव ३२ अंकले बढेको हो । यो साता चार कारोबार दिनमा दुई कारोबार दिन बजार बढेको छ भने दुई कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन २२ दशमलव १० अंकले बढेको बजार दोस्रो कारोबार दिन ५८ दशमलव ५५ अंकले बढेको थियो । तेस्रो कारोबार दिन २ दशमलव ४८ अंकले घटेको बजार चौथो दिन २७ दशमलव ८४ अंकले घटेर बन्द भएको थियो ।  अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारप्रति देखाएको चिन्ता र चासोले गर्दा यतिबेला लगानीकर्ता उत्साहित बनेका छन् । ब्याजदर घटेको प्रभाव पनि बजारमा सकारात्मक परेको ब्रोकरहरूको अनुमान छ । यतिबेला लगानीकर्ताको मनोबल उच्च हुने खालका गतिविधि भइरहेकाले लगानीकर्ता केही सकारात्मक रहेको ब्रोकरहरूको बुझाई छ । यो साता कारोबार रकम पनि गत साताभन्दा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । गत साता पाँच कारोबार दिनमा १३ अर्ब २२ करोड १७ लाख रुपैयाँभन्दा बढीको ३ करोड ६० लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता चार कारोबार दिनमा १५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको ४ करोड २६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता ३९ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  औसतमा गत साताभन्दा यो साता कारोबार रकम १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता २७ लाख ९७ हजारभन्दा बढी भएको छ । औसतमा यो साता ३ अर्ब ९१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको १ करोड ६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साता औसतमा २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको ७२ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।  बजार सकारात्मक भएसँगै धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३२ खर्ब ७० अर्ब ८५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ९१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कायम रहेको कुल बजार पूँजीकरण यो साता मात्रै ७९ अर्ब १० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । जलविद्युत् समूहको मात्र परिसूचक घट्यो  यो साताको कारोबारमा जलविद्युत् समूहबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । जलविद्युत् समूहको परिसूचक भने शून्य दशमलव ८५ प्रतिशत घटेको हो । लघुवित्त समूहका लगानीकर्ताले भने यो साता सर्वाधिक कमाएका छन् । लघुवित्त समूहको परिसूचक सर्वाधिक ७ दशमलव ६७ प्रतिशत बढेको छ ।  त्यस्तै वित्तको ४ दशमलव ९७ प्रतिशत, जीवन बीमाको ४ दशमलव ७७ प्रतिशत, होटल तथा पर्यटनको ३ प्रतिशत, बैंकिङको २ दशमलव ५८ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव ४७ प्रतिशत, विकास बैंकको २ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ४ प्रतिशत, व्यापारिकको १ दशमलव ७२ प्रतिशत, लगानीको १ दशमलव ७० प्रतिशत र अन्य समूहको १ दशमलव ४५ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।