देशमा कोरोना सङ्क्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका बिरामीहरुको घरघरमा चिकित्सक, आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ ।
नगरप्रमुख पोखरेलले बुधबार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्शिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
हाल नगरपालिकाले कोभिडका विरामीलाई लक्षित गरेर २० बेडको आइशुलेशन वार्ड समेत संचालनमा ल्याएको छ । नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइशुलेशन वार्डमा ल्याइने र त्यहाँ पनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । यसका लागि नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ ।