विद्युत् आयोजनाहरू सर्वेक्षण अनुमतिपत्र नवीकरण असारभित्र मात्रै

काठमाडौं । विद्युत् उत्पादन, प्रसारण तथा वितरणका आयोजनाहरूले असार मसान्तभित्र नै आफ्नो सर्वेक्षण अनुमतिपत्रको नवीकरण गर्नुपर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको हालै सम्पन्न मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । २०७६ चैत १० गते भन्दा पछिसम्म सर्वेक्षण अनुमतिपत्रको अवधि रहेका आयोजनाहरूको हकमा यस्तो निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो गरेको छ । त्यसैले मन्त्रालयले असार मसान्तभित्र नै त्यस्ता आायेजनाहरूको सर्वेक्षण अनुमतिपत्रको नवीकरण गर्नुपर्ने बताएको हो । मन्त्रालयका अनुसार आयोजनाहरूका प्रवद्र्धकले सर्वेक्षण अनुमतिपत्रको नवीकरणका लागि असार मसान्तभित्र नै तोकिएको दस्तुरसहित विद्युत् विकास विभागमा आवेदन दिनुपर्ने छ । त्यसपछि विभागले सर्वेक्षण अनुमतिपत्रको कुल अवधि ५ वर्ष ननाघ्ने गरी नवीकरण गर्ने मन्त्रालको भनाइ छ । कोरोना भाइरसको पहिलो लहर शुरू भएपछि सरकारले २०७६ चैत ११ गतेदेखि मुलुकभर ४ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी लगाएको थियो । त्यसपछि पनि पटकपटक निषेधाज्ञा लगाउने काम भएको थियो । कोरोनाको दोस्रो लहर शुरू भएपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । फलस्वरूप २०७६ चैत १० गतेसम्म सर्वेक्षण अवधि रहेका आयोजनाले अनुमतिपत्रका नवीरकण गर्न सकेका छैनन् । अहिले निषेधाज्ञा फुकवा भएपछि मन्त्रालयले असार मसान्तभित्र नै त्यस्ता आयोजनाको अनुमतिपत्र नवीकरण गर्न आह्वान गरेको हो । मन्त्रालयले आइतवार एक सूचना सार्वजनिक गर्दै प्रवद्र्धक कम्पनीहरूलाई यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले आयोजनाहरूले यही अवधिमा नै सर्वेक्षण अनुमतिपत्र नवीकरण गर्नुपर्ने बताए । ‘बीचमा पटकपटक भएको बन्दाबन्दीका कारण बैंकहरू पनि बन्द भए । फलस्वरूप प्रवद्र्धक कम्पनीहरूले दस्तुर पनि बुझाउन सकेका थिएनन् । तर, अहिले निषेधाज्ञा खुकुलो भएको छ भने बैंकहरू पनि खुलेका छन्,’ उनले भने, ‘कोरोनाका कारण दिइने यो अन्तिम मौका हो । त्यसैले सम्बद्ध आयोजनाहरूले यही अवधिमा नै सर्वेक्षण अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने छ ।’ यस अवधिमा नवीकरणको प्रक्रिया अगाडि नबढाए थप दस्तुर लाग्न सक्ने उनको भनाइ छ । उत्पादन तथा निर्माण अनुमतिपत्रका लागि समयमा दरखास्त दिन नसकेका विद्युत् उत्पादन, प्रसारण तथा वितरण आयोजनाले पनि असारभित्र नै विभागमा दरखास्त दिनुपर्ने भएको छ । २०७६ चैत १० गतेसम्म सर्वेक्षण अनुमतिपत्रको अवधि रहेको, तर उत्पादन तथा निर्माणका लागि समयमा दरखास्त दिन नसकेका आयोजनाको हकमा यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ । आयोजनाको सर्वे सकिएपछि प्रवद्र्धकले सर्वेक्षण अवधिमा नै उत्पादन तथा निर्माण अनुमतिपत्रका लागि विभागमा दरखास्त दिनुपर्ने हुन्छ । तर, २०७६ चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण त्यस्ता आयोजनाहरूले उत्पादन तथा निर्माण अनुमतिपत्रका लागि दरखास्त दिन सकेका छैनन् । अब, त्यस्ता आयोजनाहरूले असार मसान्तभित्र नै दरखास्त दिनुपर्ने मन्त्रालयको भनाइ छ । प्रवर्द्धक कम्पनीबाट तोकिएको अवधिमा नै दरखास्त आएमा विभागमार्पmत उत्पादन तथा निर्माणको अनुमतिपत्र जारी गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयले २०७६ चैत १० गतेसम्म अर्थात् बन्दाबन्दी हुनुभन्दा अगाडि वित्तीय व्यवस्थापन र विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेका आयोजनाको मात्र विद्युत् उत्पादन मिति बढीमा १ वर्ष थप्ने बताएको छ । मन्त्रालयले गत माघ २९ गते नै यस्तो निर्णय गरेको थियो । तर, त्यस बेला यस सम्बन्धमा स्पष्ट निर्णय भने गरेको थिएन । मन्त्रालयले अहिले आएर वित्तीय व्यवस्थापन र पीपीए गरेका आयोजनाको हकमा मात्र उत्पादन अवधि बढाउने निर्णय गरेको हो । ‘जसले वित्तीय व्यवस्थापन र पीपीए नै गर्न सकेको छैन त्यस्ता आयोजनाहरूको निर्माण कार्य नै हुँदैन । त्यो अवस्थामा उनीहरूको निर्माण कार्य कोरोनाका कारण प्रभावित हुने कुरा आएन,’ भेटवालले भने, ‘त्यसपछि वित्तिय व्यवस्थापन र पीपीए गरेका आयोजनाको हकमा मात्र उत्पादन अवधि बढाउने निर्णय गरेका हौं ।’

सम्बन्धित सामग्री

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा  रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ। अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा नवीकरणको लागि आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएको विभागले जनाएको छ ।विभागद्वारा कम्पनीलाई पठाईएको सूचनामा भनिएको छ 'प्रस्तुत विषयमा सौर्य PV विद्युत आयोजना, महोत्तरी(१२० मे.वा.)को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको बहाल अवधि भित्र एवं कोभिड-१९ को कारण प्रदान भएको २०७८ असार मसान्त सम्म पनि नवीकरणको लागि (वा उत्पादन अनुमतिपत्रको लागि ) कुनै निवेदन प्राप्त नभएकोले प्रस्तुत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि ०७५/७६ वि.उ.स. १०५८) रद्द भएको व्यहोरा श्री उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (सचिवस्तर)को मिति २०७८/०५/२२ को निर्णयानुसार अनुरोध छ ।'चौधरी ग्रुप अन्तर्गत सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालि स्थापना भएको थियो ।

सीजीको सोलार प्रोजेक्ट अनुमति खारेज

चौधरी ग्रुप इनर्जी इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेड (सीजीईआई) ले पाएको १२० मेगावाट उत्पादन क्षमता बराबरको सौर्य ऊर्जा (सोलार प्रोजेक्ट) आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज भएको छ । महोत्तरीमा निर्माण प्रस्ताव गरिएको सोलार प्रोजेक्ट आयोजनाको सर्वेक्षण अनुमतिपत्र नवीकरण गर्न सीजीईआई नआएपछि खारेज गरिएको विद्युत् विकास विभागले जनाएको छ ।