शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी लैजान श्रम सम्झौता
बेलायतले आफ्नो नागरिकसरह नै सेवा सुविधा दिने गरी नेपाली स्वास्थ्यकर्मी लैजाने सहमति गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालका लागि राजदूत निकोला पोलिटबीच यसबारे सोमबार समझदारीमा हस्ताक्षर भएको हो ।
नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियासँग ५ वर्षअगाडि (२०७५ मा) भएको शून्य लागत श्रम सम्झौताको अवधि आउँदो कात्तिक १२ देखि सकिँदै छ । यो श्रम सम्झौतालाई नवीकरण गर्न बस्नुपर्ने नेपाल र मलेसियाबीचको संयुक्त प्राविधिक समिति (जेटीसी) बैठकको मिति भने अझै टुंगो लागेको छैन । मलेसियाले यस्तो सम्झौता कामदार स्रोत देशमध्ये नेपालसँग मात्रै गरेको छ ।
नेपाल र मलेसियाबीचको श्रम सम्झौता परिमार्जन गरी आउँदो अक्टोबरमा नवीकरण गर्न उच्चस्तरीय सहमति भएको छ । मलेसियाले अब नवीकरण हुने श्रम सम्झौताभित्र घरेलु कामदारलाई समेत समेट्न चाहेको छ । शून्य लागत नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुई देशका मन्त्रीबीच छलफल भएको छ ।