साहित्यमा माओत्सेतुङको योगदानबारे अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को अन्तरक्रिया

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को आयोजनामा ‘सर्वहारा साहित्यमा माओत्सेतुङको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७७ पुस १५ गतेका दिन नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको आतिथ्यता तथा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतमको अवधारणा पत्र प्रस्तुत गर्दै भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुुरीले माओत्सेतुङले चीनको परम्परागत बौद्धिक साहित्यमा मात्र सीमित रहन नहुने आवश्यकतामा जोड दिनुभएको बताउनुभयो । पुरानै तरिकाले सोच्ने चिन्तन पद्धतिले अवसरवादलाई मजलल गरेको बताउँदै उहाँले माओत्सेतुङले त्यसका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरेको बताउनुभयो । ‘विश्व कम्युनिस्ट आन्दोलनले शिक्षा दिएको छ, चीनमा जस्तै महान् सर्वहारा सांस्कृतिक क्रान्ति पटक–पटक चलाइनुपर्दछ’ उहाँको भनाइ थियो । खालि लेखेर, बोलेर लेखेर मात्र समाजमा आमूल परिवर्तन नहुने बताउँदै प्रवक्ता पुरीले त्यसका लागि सङ्गठनात्मक शक्ति अपरिहार्य रहेको बताउनुभयो । ‘खालि जनताको पक्षमा साहित्य सृजना गरेर हुँदैन’ साहित्यकार क्षेत्रप्रताप अधिकारीको सन्दर्भ उठाउँदै उहाँले भन्नुभयो– ‘सङ्गठनको मातहतमा सामूहिक प्रयत्नले मात्रै समाजमा आमूल परिवर्तन हुन सक्छ ।’ प्रवक्ता पुरीले जोड दिएर भन्नुभयो– ‘प्रगतिशील/प्रगतिवादी लेखक, साहित्यकारहरूले हजारौँ कम्युनिस्ट उत्पादन गर्न लागिपर्नुपर्दछ ।’ कार्यक्रम सङ्घका अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता, केन्द्रीय कोषाध्यक्ष प्रकाश थापामगरको सञ्चालन र केन्द्रीय सचिव गिरीप्रसाद बुढाको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।