बैतडीका पञ्चेश्वर र शिवनाथ गाउँपालिकालाई आफ्नै भवन बनाउन एक कार्यकाल

चैत २३, काठमाडौं । बैतडीका पञ्चेश्वर र शिवनाथ गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न १ कार्यकाल खर्च गरेका छन् । पञ्चेश्वरले वडा नम्बर ४स्थित आम्चौरामा र शिवनाथले सुल्लेखानमा आफ्नै भवन निर्माण गरेका हुन् । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएपछि भवन भाडामा लिएर काम गर्दै आएका स्थानीय तहले कार्यकालको समय घर्किनै लाग्दा  भवन निर्माण सम्पन्न गरेका हुन् । २०७३ सालमा भएको स्थानीय तहको निर्वाचन जितेर जनप्रतिनिधि बनेकाहरुको कार्यकाल सकिनै लागेपछि आगामी ३० वैशाखमा स्थानीत तहको निर्वाचन निर्धारण गरिएको छ । निर्वाचनको मिति नजिक हुँदै गर्दा बैतडीका उक्त स्थानीय तहले प्रशासकीय कामकाज भवनबाट गर्न थालेका छन् । पञ्चेश्वर गाउँपालिकाको २ करोड रुपैयाँ लागतमा १६ कोठे भवन निर्माण गरेको छ । त्यस्तै शिवनाथ गाउँपालिकाले पनि २ करोड रुपैयाँमा नै भवन निर्माण गरेको बताइएको छ । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिए पञ्चेश्वरका अध्यक्ष गोरखबहादुर चन्ले जानकारी दिए । उनका अनुसार पञ्चेश्वरको भवन निर्माणका लागि २०७६ सालमा ठेक्का दिइएपनि गत १९ चैतका दिन उद्घाटन गरिएको हो । त्यस्तै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले शिवनाथ गाउँपालिकाले बनाएको नयाँ भवनबाट फागुन १ गतेदेखि सेवा सूचारु भइसकेको जानकारी दिइन् । रासस