जेठ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२३ ओटा धितोपत्रको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर २१ हजार ९०४ पटकमा रू. १ अर्ब २९करोड ९८ लाख ५ हजार ५८९ दशमलव ५८ बराबरको शेयर खरीद विक्री भएको छ ।
लगातार तीन दिनदेखि बढेको बजारमा शुक्रवार भने सामान्य करेक्सन भएको देखिन्छ । बढेको बजारमा अल्पकालिन लगानीकर्ता र ट्रेडरहरुले प्रोफिट बुक गरेसँगै करेक्सन आएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
समीक्षामार्फत केही पनि नीतिगत परिवर्तन गरिएको छैन । लगानीकर्ताले शेयर धितो कर्जामा ४–१२ को नीति परिमार्जन हुने अपेक्षामा थिए । तर मौद्रिक नीतिमा यस्ता केही पनि विषय समावेश गरेको दखिएन । यद्धपि समग्र लगानीकर्ता आगामी आवको बजेटको प्रतिक्षामा रहेको देखिन्छ ।
अब यी नीतिगत विषयलाई आगामी बजेटमार्फत संसोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेषकहरु बताउँछन् । यद्धपि शेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।
कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी रुरु जलविद्युत् परियोजनाको शेयरमूल्य ६ दशमलव १३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९०० पुगेको हो । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ५ दशमलव ३१ प्रतिशत बढेर रू. ३९७ कायम भएको छ ।
त्यसैगरी शुक्रवार दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ७५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३१ मा झरेको हो । त्यसैगरी दोस्रोमा हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ७४ प्रतिशत घटेर रू. २२९ दशमलव १० कायम भएको छ ।
शुक्रवार सर्वाधिक शेयर खरीदविक्री प्रभु बैंकको संस्थापक शेयर रू. १७ करोड ६० लाख बराबरको भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४५ पुगेको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा मेगा बैंकको रू. ९ करोड ८२ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशलमव शून्य ८ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।
समूहगत परिसूचक घट्नेमा बैंक समूहको परिसूचक शून्य दशलमव ३९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ९७ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशलमव ५८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ७० प्रतिशतका दरले घटेको छ ।
यसैगरी लघुवित्त समूहको शून्य दशलमव ४५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव शून्य ४ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ७२ प्रतिशत, अन्य समूहको १ दशमलव ७९ प्रतिशत र ब्यापार समूहको परिसूचक शून्य दशलमव ६८ प्रतिशतका दरले घटेको छ ।